कलैया,बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवालले पालिकाका वडाध्यक्षहरुले राजनीति गर्न थालेपछि हालसम्म पनि गाउँपालिकाको बजेट पास हुन नसकेको बताउनुभएको छ ।
आफू निर्वाचित भएको दलभन्दा फरक दलबाट निर्वाचित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पालिकाको विकासमा ध्यान दिनुको साटो दलीय राजनीतिमा लागेकोले बजेट पास हुन नसकेको उहाँले बताउनुभयो ।
चालु वर्ष २०७९÷८० को लागि गाउँपालिकाले पेस गरेको बजेट गाउँसभाबाट पारित गर्न प्रयास गरेपछि वडाध्यक्ष र सदस्यहरुले राजनीति गरेर जबरजस्ती बजेट पास हुँन नदिएको जैसवालको भनाइ छ ।
आफू पालिकाको अध्यक्ष भए पनि कार्यपालिकामा बहुमत भने आफ्नो पक्षमा नहुँदा वडाध्यक्षहरुले पालिकालाई राजनीतिको अखडा बनाएको उहाँले आरोप लगाउनुभयो । बजेट पास गरेर पालिकाको विकासमा लाग्नुपर्ने भए पनि अहिलेसम्म वडाध्यक्षहरुको राजनीतिक पूर्वाग्रहका कारण बजेट पास नहुँदा विकास निर्माण कार्य ठप्प हुन पुगेको जैसवालले गुनासो गर्नुभयो ।
प्रसौनी गाउँपालिकाले लामो समयपछि बितेको शनिवार आफ्नों ११ औं गाउँसभामार्फत चालु वर्ष २०७९÷८० का लागि ४८ करोड ८६ लाखको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ । तर, समयभन्दा एक महिना ढिलो गरी ल्याइएको बजेट पनि पारित हुँन सकेन ।
आँफूले वडाध्यक्ष सदस्य लगायत सबैलाई समेटेर अघि बढ्न खोजे पनि विकास विरोधी तत्वहरुले पालिकालाई विकासको बाटोमा जान नदिने षड्यन्त्र गरिरहेको अध्यक्ष जैसवालको जिकिर छ । शनिवार नैं पालिकाको चालु वर्षको बजेट पास गर्न प्रस्ताव राखेको भए पनि कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्षहरुले विरोध गरेर बजेट समेत पास हुन नदिएको जैसवालले बताउनुभयो ।
प्रसौनी गाउँपालिकाका अध्यक्ष जैसवाल एमालेबाट निर्वाचित हुनुभएको हो । तर७ वडा रहेको पालिकामा दुई वटा वडामा नेकपा माओबादी र एक÷एक वटा वडामा कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले वडाध्यक्ष जितेको र अध्यक्ष जैसवाल कार्यपालिकामा अल्पमतमा रहनुभएको छ ।


















