कलैया,चिसो बढेपछि कलैया र वीरगजका विद्यालयमा शुक्रबारसम्मका लागि विदा घोषणा गरिएको छ । सोमबारदेखि अचानक बढेको शितलहर र चिसोलाई मध्यनजर गर्दै बाराको कलैया उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले सम्पूर्ण विद्यालयमा विदा दिएको हो ।शितलहरले तापक्रम वर्षकै न्यून रहेको र बालबालिकालाई विद्यालय आउन गाह्रो भएपछि उपमहानगरभित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा मंगलवारदेखि ४ दिनसम्मका लागि विदा दिइएको छ ।कलैया उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद बरनवालले सोमबार एउटा सूचना जारी गर्दै नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि बढ्दो चिसो र शितलहरलाई मध्यनजर गर्दै विदा दिइएको जनाउनुभएको छ ।त्यसैगरी वीरगन्ज महानगरपालिकाले पनि नगरभरिका विद्यालयमा विदा दिएको छ । चिसो र हुस्सुका कारण अचानक शितलहर बढेपछि वीरगन्ज महानगरपालिकाले पनि मंगलवारबाट शुक्रबारसम्मका लागि विद्यालयमा विदा दिएको हो ।महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सोमबार साँझ एउटा सूचना जारी गर्दै नगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत (निजी) विद्यालयमा शुक्रबारसम्मका लागि विदा दिइएको जानकारी गराउनुभएको छ । कर्णले जारी गरेको सूचनामा मौसम प्रतिकुलताका कारणबाट बालबालिकाहरुलाई नियमित विद्यालयमा पठनपाठन गर्न असहज हुँदै गएकोले मिति २०७९ पुष १९ गते मंगलबारदेखि २०७९ पुष २२ गते शुक्रबारसम्मका लागि हिउँदे विदाबाट कट्टा हुनेगरी विद्यालयमा पठनपाठन मात्र स्थगित गरिएको उल्लेख छ । यद्यपि यस अवधिमा मौसममा सुधार आएको खण्डमा विद्यालयमा पठनपाठन पुनः सूचारु हुने पनि सूचनामा उल्लेख छ ।


















