निजगढ,बाराको कोल्हबीमा उपद्रो मच्चाउदैआएको जंगली हात्ती यमगजलाई नियन्त्रणमा लिन पर्सा राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले ३ दिनदेखि गर्दैआएको प्रयास अझै सफल हुन सकेको छैन । कोल्हबीमा आतङ्क मच्चाउदै आएको सोही हात्तीले आइवार रौतहट जिल्लाको फतुवा विजयपुरमा पनि घर भत्काएर घरमा राखेको अन्नबाली नष्ट गरेको छ ।
कोल्हबीमा १ महिनादेखि लगातार उपद्रो मच्चाउदै आएको जंगली हात्ती यमगजले आइतवार बिहान रौतहटको फतुवा विजयपुर नगरपालिकाको भैसही गाँउमा पसेर स्थानीय ज्वाला चौधरीको घर भत्काउनुको साथै घरमा राखेको भकारीको धान खाएर नष्ट पारेको हो ।

राति बस्तिमा पसेर आतङ्क मच्चाउने हात्ती नियन्त्रणमा लिन भनेर पर्सा राष्ट्रिय निकुञ्ज आदाभारको प्राविधिक टोली २ वटा घरपालुवा हात्तीसहित सोही क्षेत्रको जंगलमा सक्रिय रहेको समयमा हात्तीले बारा र रौतहटका विभिन्न बस्तिमा उपद्रोह मच्चाउने क्रम जारी राखेको हो ।यमगजले आइतवार बिहान ५ः३० बजे फतुवा विजयपुर नगरपालिका वडा नम्बर ११ भैसहीमा चौधरीको घरको भकारी फुटाएर त्यहाँ राखिएको धान खाएर नष्ट पारेको स्थानीयले बताएका छन । शनिवार राति जीतपुरसिमरा उपमहानगरपालिका १६ को टाँगियाबस्ति जंगलबाट पूर्वतर्फ लागेको भनिएको सो हात्तीले सोही रात कोल्हबी २ को हनुमानगञ्ज हुदै बिहान भैसहीमा पुगेर उपद्रोह मच्याएको हो ।

धरधन्दा गर्नेक्रममा सबेरै उठेर घरबाहिर निस्किनुभएकी चौधरीकी आमालाई हात्तीले आक्रमण प्रयाससमेत गरेको र उनले भागेर ज्यान जोगाएको स्थानीयले बताएका छन । सोही राति कोल्हबी हनुमानगञ्जमा पनि स्थानीयको करेसाबारीमा हात्तीले क्षति गरेको थियो ।

कोल्हबी क्षेत्रमा लामो समयदेखि स्थानीयको बाली खाने र घर भत्काउने जस्ता कार्य गरेर स्थानीयलाई दुःख दिदैआएकोे उक्त हात्ती नियन्त्रणमा लिन भनेर पर्सा राष्ट्रिय निकुञ्जको प्राविधिक टोली सो क्षेत्रको जंगलमा ४ दिनदेखि सक्रिय छ । जंगली हात्ती नियन्त्रणमा लिन आरक्षले २ वटा पोथी घरपालुवा हात्तीसंगै प्राविधिक टोली कोल्हबीमा खटाएको हो । टोलीले भलुहीखोर प्रहरी चौकीमा बसेर हात्तीको पिछा गर्दैआएको भएपनि अहिलेसम्म सफलता हात पार्न सकेको छैन । आरक्षको टोली अपराह्न ११ बजे हात्तीले क्षति गरेको भैसहीस्थित चौधरीको घरमा पुगेको र अवस्था जानकारी लिएपछि हात्तीको खोजीमा जंगलतर्फ गएको थियो ।बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीको आग्रहमा निकुञ्ज र वन कार्यालयको संयुक्त टोली हात्ती नियन्त्रणको लागि कोल्हबी क्षेत्रमा खटेको हो । सांसद मैनालीले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई बिहीवार काठमाण्डौंमा ध्यानाकर्षण पत्र बुझाएर बस्तिमा उपद्रोह मच्चाउने हात्ती नियन्त्रणमा लिन माग गर्नुभएको थियो ।

Leave a Reply