निजगढ,नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको अवसरमा शनिवार निजगढ नगरपालिका वडा नम्बर ४ स्थित सहिद हिरालाल पार्कमा वृक्षारोपण गरिएको छ ।

सहिद मुखलाल स्मृति प्रतिष्ठान नेपाल र नेकपा एमाले निजगढ नगर कमिटीको संयुक्त आयोजनामा बाघभैरव सामुदायिक वन क्षेत्रमा बेल, राजवृक्ष, करम, अशोक लगायत फलफूल र रुख प्रजातिका करिव २ सय विरुवा रोपिएको हो ।

नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्ष एंव नगर पार्टी कमिटीका अध्यक्ष सुरथ पुरीको अध्यक्षता र नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बाघभैरव सामुदायिक वन समुहका पदाधिकारीसहित नेकपा एमालेका नेता कार्यकर्ता र सयौं सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै एमालेका नेत एकबहादुर श्रेष्ठले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित भएको र सबै कम्युनिष्ट पार्टीहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी नगर प्रमुख पुरीले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलाललाई नेपाल भरिका कम्युनिष्ट पार्टीले सम्झने गरेको बताउनुभयो । उहाँले जुन उद्देश्यका साथ कम्युनिष्ट पार्टी स्थापना भएको थियो, त्यो अझै पनि पुरा नभएको बताउनुभयो ।

नेपालमा सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा गत २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । पुष्पलालले निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी र मोतीदेवी समेत मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो । विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमायाँ श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको थियो ।

तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँको शव समेत नेपाल ल्याउँन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा गोली हानी हत्या गरिए पछि दाजुको अभियानलाई पूरा गर्न उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । पुष्पलालले कम्युनिस्ट बन्नुभन्दा अगाडि बनारसमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस पार्टीको कार्यालय सचिव भएर काम गर्नुभएको थियो । पुष्पलालले विसं २००५ मा माक्र्स र एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणा–पत्रको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।

Leave a Reply