असारको अन्तिम सातासम्म पनि पानी नपर्दा बारा सहितका मध्य तराईका कृषकहरुले समयमा धान रोपाइ गर्न पाएका थिएनन् । कृषिको मुख्य बाली धान रोप्ने मुख्य महिना असार हो। धान रोप्न चाहिने पानी हो। यो सालको असारमा कताकति परेको पानीका आधारमा थुप्रै किसानले धान रोपे। यो बालीलाई रोप्दामात्रै पानी भएर हुँदैन। केही महिना नियमित पानी चाहिन्छ। असारमा भने जति पानी परेन। त्यसैले अझै धेरै खेतमा धान रोप्नै बाँकी छ।
रोपिसकेको धानका गरा सुक्खामात्रै होइन, धाँजा पनि फाँटेका छन्। पानी पर्ने कुरा प्रकृतिमा भरपर्ने कुरा हो। मनसुनको चक्रमा निर्भर हुने कुरा हो। यसपालि मनुसनको चक्र खल्बलिएको मौसम विभागले जनाएको छ। देशको कतै पनि आवश्यकमात्रामा पानी परेको परेन । साउन लागेपछि पानी परेपनि यो प्रर्याप्त अझै भएको छैन ।
तराई मधेशका जिल्लाहरुमा खेतमा धाँजा फाट्ने र बीउ सुक्ने वा छिप्पिने भयले किसानलाई सताइरहेको छ। नेपालको अर्थतन्त्र कृषिमा आधारित छ। कृषिमा सबैभन्दा ठूलो हिस्सा धान हो। नेपाली खाद्य संस्कृतिको मुख्य हिस्सा धानबाट बन्ने चामल नै हो। त्यसैले धान रोप्न नपाउनु भनेको भोक मेट्ने उपायको चिन्ता सँगसँगै अर्थतन्त्र खस्कने पिरलो पनि हो। कृषिप्रधान भनिए पनि मुलुक कृषिमा आत्मनिर्भर छैन। मुख्यबाली धानको चामलै पनि अर्बाैं रुपैयाँको आयात हुन्छ। त्यसैले कृषकहरुलाई सरकारहरुले राहतको व्यवस्था गर्न आवश्यक छ ।
















