निजगढ,ट्रकको ठक्करपछि गम्भीर घाइते बनेका एक युवकलाई निजगढमा बेवारिसे छोडेर फरार बनेका ट्रक चालक र सहचालकलाई इलाका प्रहरी कार्यालय निजगढले हिजो नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
प्रहरीले सिसिटीभि फुटेजको आधारमा युवकलाई ठक्कर दिने ना. ८ ख.३९८५ नं. को ट्रकको पहिचान गरेर फरार बनेका दुबै जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले ट्रकका चालक सर्लाही जिल्ला मलंगवा ४ बस्ने वर्ष ३० को प्रमोद पण्डित कुमार र सोही ठाउँ बस्ने सहचालक बसवरिया गाउँपालिका ३ बस्ने दिनेश साहको छोरा वर्ष १९ को राम छबिलाल साहलाई नियन्त्रणमा लिएर कानुनी कारबाही शुरु गरिको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

प्रहरीले दिएको जानकारीअनुसार बिहीवार राति पर्सा जिल्ला जिराभवानी गाउँपालिका १ गमहरिया बस्ने धिरा धामीको छोरा अन्दाजी वर्ष २०-२१ को मुकेश धामीलाई निजगढ ९ स्थित पूर्वपश्चिम राजमार्गको भमरा खोला पुल नजिक ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट बाँया खुट्टाको घुडा मुनि मासुको भाग नभएको र दायाँ खुट्टाको घुडा मुनि गहिरो गम्भिर चोट लागेर गम्भीर घाइते बनेका धामी राजमार्ग छेउको कच्ची सडकमा घाइते अवस्थामा बेवारिसे फेला परेका थिए ।
सिसिटीभि फुटेजको आधारमा युवकलाई ठक्कर दिने ट्रकको नम्बर पत्ता लागेपछि अनुसन्धान गर्दै जादा चालक र सहचालक दुबैलाई इलाका प्रहरी कार्यालय निजगढमा झिकाएर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिनुभयो ।घाइते धामीको उपचारको लागि निजगढ प्रहरीले तत्काल प्रादेशिक अस्पताल कलैया पठाएको र त्यहाबाट वीरगञ्ज रिफर गरेर हाल अभिभावकको जिम्मामा काठमाण्डौंको ट्रमा सेन्टरमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply