सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नगर अस्पतालमा चिकित्सक र जनप्रतिनिधिबीचको विवादका कारण ठप्प भएको ओपीडी (बहिरंग सेवा) सेवा पुनः सञ्चालनमा आएको छ ।

यसअघि वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अन्सारीले ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै अस्पताल प्रशासनले सम्पूर्ण सेवा बन्द गरेको थियो । चिकित्सकले बिरामीको उपचार तथा परामर्श गरिरहेकै क्रममा बिरामीमा ‘सिजर’ देखिएपछि उत्पन्न विवाद चर्किएको बताइएको थियो । घटनाको विरोधमा अस्पतालका कर्मचारीहरूले सामूहिक हस्ताक्षरसहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
विवाद समाधानका लागि राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा अध्यक्ष धनबहादुर श्रेष्ठ तथा अस्पतालका सदस्यसचिव रमेश सुवेदी सहित व्यवस्थापन समितिको पहलमा छलफल भएको थियो । छलफलपछि आपसी समझदारी कायम गर्दै अस्पतालका सबै सेवा पुनः सुचारु गरिएको जनाइएको छ ।अस्पताल प्रशासनले अबदेखि यस्ता घटना दोहोरिन नदिन आवश्यक समन्वय र संवादलाई प्राथमिकता दिने जनाएको छ ।
यसअघि वडा अध्यक्ष अन्सारीले ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै अस्पताल प्रशासनले नगर अस्पतालको सम्पूर्ण सेवा ठप्प गरिएको जनाएको थियो ।
अस्पताल प्रशासनका अनुसार चिकित्सकले बिरामीको उपचार र परामर्श गरिरहेकै समयमा बिरामीमा ‘सिजर’ (छारे रोग जस्तो समस्या) देखिएको थियो । सोही विषयलाई लिएर वडा अध्यक्ष अन्सारीले उत्तेजित हुँदै गालीगलौज र धम्की दिएको चिकित्सकहरुको आरोप छ ।
घटनाको विरोध गर्दै अस्पतालका सम्पूर्ण कर्मचारीहरूले सामूहिक हस्ताक्षरसहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । नगर प्रमुख राजन पौडेलले घटनाप्रति चासो देखाउँदै यथासक्य चाँडो सेवा सुचारु गर्न पहल गर्नुभएको थियो ।
यता वडा अध्यक्ष अंसारीले भने आफूले चिकित्सकमाथि दुव्र्यवहार नगरेको बताउनुभएको छ । उक्त रक्तचापको बिरामी ओछ्यानमा छट्पटाई रहदाँ समेत चिकित्सकले वास्ता नगरेपछि आफूले असन्तुष्टी जनाएको बताउनुभयो ।
‘बिरामी ओछ्यानमा छट्पटाईरहेको छ । स्वास्थ्यकर्मीले लापरवाही गरिरहेका छन् । त्यो दृश्य कसले हेरेर बस्न सक्छ ?’ अंसारीले भन्नुभयो, ‘मैले जनप्रतिनिधि मात्र नभई आम नागरिकको हैसियतले सम्झाउन खोज्दा उल्टै अनेक कुरा गर्न थालियो ।’अंसारीले आफूले बिरामीको उपचारमा लापरवाही नगर्न आग्रह गर्दा कसरी दुव्र्यवहार भएको भन्द्र प्रतिपश्न गर्नुभएको छ । उहाँले अस्पतालको सिसिटीभी क्यामराको फुटेज हेर्न र को दोषी भएको पत्ता लगाउन चुनौती दिनुभएको छ ।



















