राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
शनिबार सम्पन्न पोखरिया नगरपालिकाको छैठौं नगरसभाले ५१ करोड ९० लाख १४ हजार रुपैयाँको बजेट ल्याएको हो ।
नगरपालिकाका प्रमुख प्रद्युमन चौहानको अध्यक्षतामा बसेको नगरसभाको दोस्रो बैठकले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिएको छ ।
प्रमुख चौहानले नगर कार्यपालिका सदस्यहरूका लागि ५० हजार सम्मको निःशूल्क स्वास्थ्य उपचार, पालिका अन्तर्गतका गर्भवती महिलाको लागि निःशूल्क एम्बुलेन्स सेवा, कार्यपालिका सदस्यहरूको छोरीको विवाहको लागि पालिकाबाट विशेष सहयोग उपलब्ध गराउन पनि बजेट छुट्टयाइएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले पालिकाबाट दिने सेवाहरू जनतामुखि हुनुपर्नेमा जोड दिएका थिए । उहाँले सेवाग्राहीलाई समयमै गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो ।
नगर सभामा सेवा निवृत्त कार्यालय सहयोगी सुरेश महतोलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
बैठकमा उपप्रमुख रुबी ठाकुर, सम्पूर्ण वडाका वडा अध्यक्ष, नगर सभा सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।