निजगढ,जिल्ला प्रशासन कार्यालय बाराले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराको बिक्री, वितरण तथा सेवन निषेध गर्ने निर्णय गरेको छ । साथै कार्यालयले नेपाल÷भारत सीमा नाका पनि बन्द गर्ने निर्णय गरेको छ ।गृह मन्त्रालयको निर्देशनअनुसार शान्ति सुरक्षालाई दृष्टिगत गर्दै हिजो जारी गरिएको सूचनामा आदेशको पालना नगरे प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईव्दारा हस्ताक्षरित सूचनाअनुसार फागुन १५ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म बारा जिल्लाभर मदिरा लगायत सबै प्रकारका मादक पदार्थको ओसारपसार, बिक्री–वितरण तथा सेवन पूर्णरूपमा निषेध गरिएको छ ।त्यसैगरी फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म बारा जिल्लासँग जोडिएका भारततर्फका सबै सीमा नाका पूर्णरूपमा बन्द गरिने पनि जनाइएको छ ।

यस्तै फागुन २० गते राति १२ः०० बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ । एम्बुलेन्स, दूध तथा औषधि बोकेका सवारी, खानेपानी ट्यांकर, खानेपानी तथा ढल मर्मत, दमकल, दूरसञ्चार, शव वाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधन र विद्युत सेवा जस्ता अत्यावश्यक सेवामा भने अवरोध नहुने स्पष्ट पारिएको छ । साथै कूटनीतिक नियोगका सवारी साधन र अनुमति प्राप्त सवारी साधन सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवाला निकाय तथा सर्वसाधारणलाई सूचनाको पूर्ण पालना गर्न अनुरोध गरेको पनि गरेको छ ।

Leave a Reply