सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट औपचारिक रूपमा करदाता सेवा सुरु भएको छ। उपमहानगरपालिका र आन्तरिक राजस्व कार्यालय सिमराको संयुक्त आयोजनामा सोमबार आयोजित एक समारोहकाबीच नगरप्रमुख राजन पौडेलले उक्त सेवाको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहका क्रममा सेवाग्राहीलाई व्यवसाय दर्ता प्रमाणपत्र तथा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) वितरण गर्दै सेवा सञ्चालनमा ल्याइएको हो । सेवा सुरु भएको पहिलो दिन कर सेवा लिने करदातालाई सम्मानसमेत गरिएको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेले देशभरका ७५३ स्थानीय तहमध्ये उपमहानगरपालिका स्तरमा जीतपुरसिमराबाट पहिलो पटक यो सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँले मन्त्रिपरिषद्को कार्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाटै कर सेवा विस्तार गर्ने सरकारी नीति कार्यान्वयनमा आएको बताउनुभयो ।अब उपमहानगरपालिकाबाटै प्यान दर्ता, व्यवसाय दर्ता तथा करचुक्ता सेवा उपलब्ध हुने भएपछि करदाताले सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । यसले समय र खर्च बचत हुनुका साथै कर प्रणालीप्रति नागरिकको पहुँच र विश्वास बढ्ने विश्वास लिइएको छ ।नगरप्रमुख पौडेलले यो सेवालाई झन्झटरहित र प्रभावकारी बनाउन आन्तरिक राजस्व कार्यालयसँगको समन्वयमा दक्ष कर्मचारी परिचालन गरिने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Reply