खासगरी अहिले बर्खा मात्रै लागेको छैन, वर्षा पनि भइरहेको छ । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद आउने याम पनि हो । नेपालमा बर्सेनी बाढीपहिरोको विपद् नियमित जस्तो छ । जसको पूर्वानुमान स्वतः गर्न सकिन्छ । यति हो विपद् जोखिमका क्षेत्रहरूको नक्सांकन सरकारले गरेको छैन, त्यसैले कहाँकहाँ के हुन्छ भन्न सकिन्न । कमजोरी त्यही हो कि विपद्को आकलनअनुसार जोखिम क्षेत्र नुछुट्ट्याउनु र विपद् आइसकेपछि हारगुहार गर्नु । जोखिम आकलन भएन भन्ने हो भने पनि सरकारले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ नै पनि बनाएको छ । विपद् व्यवस्थापन सम्बन्धी सरकारी नीति पनि छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पनि छ । जब कि पहिलापहिला विपद जोखिम न्यूनीकरणको जिम्मेवारी गृह मन्त्रालयको थियो, जसको जिम्मेवारी धेरै थिए । विपद् केन्द्रित प्राधिकरण गठन भएपछि त्यससम्बन्धी सबै काम उसैको भयो । तर प्राधिकरणले आफ्नो उपस्थिति देखाउन सकेको छैन । विपद् न्यूनीकरण नीति पनि व्यवहारमा प्रकट भएको छैन । त्यसैले त बर्सेनी बाढीपहिरोको कहर उस्तै छ । बर्सेनी नेपालमा बाढीपहिरोबाट दुई सय जनाको ज्यान जाँदै आएको छ । यो क्रम घटेको छैन बरू बढेको छ । मनसुन लाग्नासाथै विपद आउनुको कारण प्राकृतिक मात्रै होइन । बर्खामा धेरै पानी पर्छ, अनि बाढी आउँछ । तर बाढी आउँदैमा मानवीयलगायत क्षति हुनुको कारण चाहिँ मानवीय पनि हो । जस्तो कि विश्व तापमान वृद्धिले बेला कुबेला बाढी पहिरो आउने गरेको छ । तापमान वृद्धिको मुख्य कारण मानवीय गतिविधि हो । अत्यधिक कार्बन उत्सर्जनले जलवायु परिवर्तन भएको छ । पृथ्वीको सन्तुलन खलबलिएको छ ।
विकासका नाममा भएको औद्योगिकीकरण र पूर्वाधार विकास पृथ्वीको सन्तुलन खल्बल्याउने प्रमुख कारण हो । औद्योगिकीकरणका हकमा नेपाल पछि भए पनि असन्तुलित विकासमा अघि छ । पहाडका भित्ता जथाभावी खारिएका छन् । बिना इन्जिनियरिङ निर्मित बाटाघाटा पहिरो चलाउने प्रमुख कारण बनेका छन् । वन विनाश र भू((धरातलको सन्तुलन खल्बल्याउने विकासे कार्यक्रममा नियमन छैन । बरू जसरी तसरी सडक खन्ने होडबाजी छ ।