पुष्पराज खतिवडा

मनहर्वा,सरकारले तोकेको कर तिर्नु सबैको दायित्व भएकाले त्यसबारे करदातालाई आवश्यक जानकारी पनि हुन जरुरी भएको जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले बताउनु भएको छ ।
जिल्ला सदरमुकाम कलैयामा आइतबारबाट सुरु भएको ३ दिने कर व्यवस्थापन सम्बन्धि तालिमको उद्धघाटन गर्दैै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका समन्वय समितिका प्रमुख साहले राज्यले तोकेको कर तिर्नु नागरिकको कर्तव्य भएको बताउनुभयो । उहाँले सहकारी संस्थाहरु सेवामुखी व्यवसाय समेत भएको हुँदा कारोबारको नियमित परीक्षण गर्दै राज्यले तोकेको कर तिर्नु पर्ने बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समितिकी उपप्रमुख चन्डीका उप्रेती सापकोटाले व्यवसायमा लेखा र कर महत्वपूर्ण हुने भएकाले त्यसबारेमा जानकारी अत्यावश्यक हुने बताउनुभयो । राज्यले तोकेको कर तिर्ने कुरालाई बेवास्ता गर्न नहुने भन्दै उहाँले समयमा कर तिर्ने विषयका बारेमा जानकारी नहुँदा वा जानकारी भएर पनि अटेर गर्दा व्यवसायमा जोखिम उत्पन्न हुने बताउनुभयो । कर सम्बन्धि कानुनी प्रावधानको जानकारी नहुँदा धेरैले जरिवाना स्वरुप ठुलो रकम तिर्नु परेको सुनाउँदै उपप्रमुख सापकोटाले जरिवाना बाहकेका अन्य प्रशासनिक कारबाही समेत हुन सक्ने भएकाले कर तिर्ने सम्बन्धमा व्यवसायीहरु आफै सचेत हुनु पर्ने बताउनुभयो ।
जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष, लेखा समिति संयोजक, प्रबन्धक र लेखाको काम गर्ने कर्मचारीहरु सहभागी रहेको सो तालिमका सहभागीहरुलाई विद्यमान कर सम्बन्धी कानुन, सहकारीले पालन गर्नु पर्ने एकिकृत निर्देशन बारे जानकारी दिइने जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले जानकारी दिनुभयो ।
तालिममा सहभागीहरुलाई चार्टड एकाउण्ट धिरज कोइरालाले प्रशिक्षण दिनुहुने छ भने तालिम आगामी असार ७ गतेसम्म संचालन हुने छ ।
तालिमको उद्धाटन कार्यक्रममा कृषि संघ बाराका कोषाध्यक्ष विन्दा सिंह, सदस्यहरु अस्तुर्नी देवी चौधरी र जयकिशुन चौधरीका साथै डुमरवाना साना किसान सहकारी संस्थाका अध्यक्ष विश्वनाथ लामिछाने लगायतको सभागिता रहेको थियो ।
उद्धाटन कार्यक्रम साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सहनी अध्यक्षता, उपाध्याक्ष नयनकला खड्काको स्वागत र मनहर्वा संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।
















