राजन बानिया
पोखरिया,पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाको १२ औं गाउँसभा बुधबार सम्पन्न भएको छ । आर्थिक बर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रमसहित गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत देवनाथ साहले ४० करोड ५२ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियोे । गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताले गर्नुभएको थियो । बजेटमार्फत अध्यक्ष मनोजकुमार गुप्ताले गरिब, दलित, अतिविपन परिवारका छोरीहरुको विवाहमा कन्यादान राशी दिने घोषणा गर्नुभएको छ । त्यसैगरी छिपहरमाई गाउँपालिकामा जन्मिने बालिकाहरुलाई दुई लाखको बालिका स्वर्ण बिमा कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । जन्मको ३५ दिनभित्र जन्मदर्ता गराइ गाउँपालिका कार्यालयमा २० हजार रुपैयासहित पेस गरेपछि गाउँपालिकाले बालिकाको शिक्षा र विवाहको लागि दुई लाख उपलब्ध गराउने गाउँपालिका अध्यक्ष गुुुप्ताले बताउनुभयो । त्यसैगरी पालिकाले ग्यासचुल्हो र ग्यास सिलिण्डर पनि वितरण गर्ने योजना अघि सारेको छ । गाउँपालिकाका जेष्ट नागरिक, एकल महिलाहरुलाई सम्मान गर्ने र विद्यार्थीहरुको लागि निशुल्क कोचिङ कक्षाको व्यवस्था गर्ने घोषणा पनि अध्यक्ष गुप्ताले गर्नुभएको छ ।
नेपाल सरकारबाट सर्सत अनुदान अन्तरगत १३ करोड ६२ लाख, बित्तिय समानीकरणतर्फ ११ करोड ३६ लाख ६२ हजार, राजस्व बाँडफाँडमा ६ करोड २७ लाख गरी कुल् ४० करोड ५२ लाख रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, जिल्ला समन्वय समिति पर्साका सदस्य सुबास साह, ज्ञानबहादुर साह, वडा अध्यक्षहरु राजबली यादव, महेन्द्र साह कलवार, बिनोद साह, बालक गदी, मौजिलाल साह लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।