बरियारपुर,बाराको करैयामाई गाउँपालिकाले आर्थिक वर्ष ०७८÷०८९ को लागि मंगलबार आयोजना गरेको गाउँसभा फेरि पनि विवादमा परेको छ ।
मंगलबारको लागि बोलाइएको गाउँसभामा वडा अध्यक्षहरुले आर्थिक वर्ष ०७८÷०८९ को लागि प्रस्तावित योजनाहरुको शीर्षक र बजेट पारदर्शी गर्नु पर्ने माग गरेका थिए । तर गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले आफनो मागमा बेवास्ता गरेपछि सभा बहिष्कार गर्नु परेको वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साहले बताउनुभयो । अध्यक्ष धामीले योजनाको शीर्षक र बजेट संसोधन नगरी विगतका वर्षहरुमा झै अपारदर्शीरुपमा बजेट प्रस्ताब गरेपछि वडा अध्यक्षहरुले पारदर्शित गर्न माग गरेका थिए ।
वडा अध्यक्ष सोनालाल साहसहित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु देवेन्द्रप्रसाद केशरी ,जनावी खातुन, उमेश चौधरी, रामकुमार चौधरी, सुरेन्द्रप्रसाद साह तथा वडा सद्स्य रामबिश्वाश साह, बिद्या चौधरी, कार्यपालिका सद्स्य दिपनी चौधरी, महेश्वरी देबी चमैइनलगायत २५ जनाले गाउँसभा बहिष्कार गरेका हुन । उनीहरुले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालाई समेत आफुहरुले गाउँसभा बहिष्कार गरेको लिखित रुपमा जानकारी गराएका छन ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तभित्र नै सम्पन्न हुनु पर्ने गाउँसभा गाउँपालिका अध्यक्ष धामी र वडा अध्यक्षहरुबीच योजना छनौटमा देखिएको विवादले अहिलेसम्म पनि सम्पन्न हुन सकेको छैन ।