निजगढ,प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानुनी प्रक्रिया पु¥याएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
सोमवार समितिको सभा हल सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण रोक्नुपर्ने कुनै कारण नभएकाले कानुनी प्रक्रिया पु¥याएर निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो ।
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अहिलेसम्म भएका सबै निर्णय खारेज गर्दै विमानस्थल नबनाउन आदेश दिएको छ । तर सोमवारको समितिको बैठकले नेपालको राष्ट्रिय हित अनुकूल अर्थतन्त्रलाई सुदृढ तुल्याउने उद्देश्यका साथ लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना रोक्नुपर्ने कुनै कारण नदेखिने जनाएको छ ।
यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्बाैँ रुपैयाँ खर्च भइसकेकाले बाह्य र आन्तरिक ऋणको बोझ बोक्दै कठिन अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई थप समस्यामा पार्न नदिन पनि विमानस्थल निर्माण गर्नुपर्ने समितिले जनाएको छ । राष्ट्रिय हित, सुरक्षा, र आर्थिक विकासका दृष्टिकोणबाट अत्यावश्यक रहेको निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन आवश्यक कानुनी, प्रशासनिक र व्यावहारिक कार्य गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।
यसैबीच सोमवार पनि निजगढका युवा विद्यार्थीहरुले राजमार्गमा प्रदर्शन र चक्का जाम गरेका छन । अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताउदै आएका युवाहरुले निजगढ युवा विद्यार्थी सरोकार मन्चको नाममा १ घण्टासम्म चक्काजाम र प्रर्दशन गरेका हुन ।