काठमाण्डौं,आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको ज्यान गएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि गत सोमवारसम्म २७ जनाले ज्यान गुमाएका हुन् । आगलागीबाट मात्रै १८ जनाको ज्यान गएको छ । अरु ६ जनाले डढेलो र ३ जनाले चट्याङमा परेर ज्यान गुमाएका हुन् ।

यी घटनामा ९० जना घाइते भएका प्राधिकरणले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा पनि चट्याङको घटना भएका छन् । आगलागीबाट वैशाख महिनामा मात्रै एक हजार दुई सय ७१ परिवारको घरगोठ जलेको छ । घरगोठमा भएको धेरैजसो आगलागी डढेलोका कारण भएको पाइन्छ ।

यस वर्षको सुख्खायाम अर्थात गएको जनवरी १ देखि अहिलेसम्म देशभर पाँच हजारभन्दा धेरै डढेलोका घटना भएका छन् । डढेलोले हजारौँ हेक्टर जङ्गल नष्ट भएको छ । जङ्गलमा रुखविरुवा मात्र हैन जीवजन्तुहरु पनि जलेका छन् । यसले पर्यावरणमै असर गरिरहेको छ । यति ठूलो क्षति हुँदा पनि सरकारले डढेलोलाई ठूलो विपद्को रुपमा स्वीकार नगरेको विज्ञले बताएका छन् ।

डढेलोबाट विभिन्न क्षेत्रमा हुने क्षतिलाई हेर्दा यो सामान्य विपत्ति नभई महाविपत्ति नै रहेको विपद् जोखिम व्यवस्थापनविज्ञ केशव मलासीले बताउनुभएको छ । जङ्गलमा लागेको डढेलो निभ्न पानी नै पर्नुपर्ने अवस्था छ । पानी परेसँगै देशका धेरैजसो ठाउँको डढेलो निभेको छ । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ ।
यस्तै बादल र वर्षासँगै गर्मी पनि केही घटेको छ । लामो खडेरीले आजित भएका किसान पानी परेपछि उत्साहित भएका छन् । मौसम पूर्वानुमान् महाशाखाले अझै केही दिन मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

Leave a Reply