वीरगन्ज,सशस्त्र प्रहरी बल नेपाल छिन्नमास्ता बाहिनीले आर्थिक वर्ष २०७८÷७९ मा ५३ करोड ८५ लाख १८ हजार ५८० रुपैयाँ बराबरको अवैध सामान भन्सार दाखिला गरेको छ ।
मधेश प्रदेशका ८ जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको अवैध सामाग्री भन्सार दाखिला गरिएको छिन्नमास्ता बाहिनीका बाहिनीपति एवंम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिनुभएको हो ।
डिआईजी मगरका अनुसार सोही अवधिमा १ करोड ५२ लाख ९८ हजार ३९० रुपैयाँ बराबरका अवैध पशु चौपाय भन्सार दाखिला गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेका चौपाय प्रदेशका विभिन्न स्थानबाट बरामद गरी भन्सार दाखिला गरिएको डिआईजी मगरले बताउनु भयो ।
१ करोड ३९ लाख ३० हजार ९७२ रुपैया बराबरको ४ हजार ३५२.८८ क्यूबिक फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बाहिनी मातहतका विभिन्न सशस्त्र प्रहरी बल एवंम् बोर्डर आउट पोष्टहरुको टोलीले जिल्लाका विभिन्न स्थानबाट उक्त परिणाम बराबरको काठ बरामद गरेको हो ।
मधेश प्रदेशका आठै जिल्लाबाट सशस्त्र प्रहरीले २ हजार ३८४.९५ किलोग्राम प्रतिबन्धित लागु औषध गाँजा बरामद गर्नुका साथै ६० विघा १७ कट्ठा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा पनि फडानी गरिएको छ ।
त्यसैगरी ३१.९२ किलोग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले १७३ मिलिग्राम ब्राउन सुगर सहित ३७ हजार ५२१ पिस प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको छ ।
बेचबिखनमा परेका ४६ जना चेलीबेटीको पनि प्रहरीव्दारा उद्धार समेत गरिएको छ भने विभिन्न अपराधिक गतिविधिमा संलग्न २१३ जनालाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको डिआईजी मगरले बताउनु भयो ।
चालु आर्थिक वर्षमा सबै गरेर अर्बाैं बराबरको राजस्व दाखिला गर्न सफल भएको डिआईजी मगरको भनाइ रहेको छ ।