नेपालीहरुको दोश्रो ठूलो पर्वमा रुपमा रहेको तिहार अथवा दीपावली शनिवारबाट शुरु हुँदैछ ।तिहार पर्व कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने गरिन्छ । तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसी–भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ ।कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाईटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।विशेष गरी तिहार पर्वको नाम हिन्दी शब्दको ‘त्योहार’ शब्दबाट अपभ्रम्स हुँदै तिहार बनेको हो । यसलाई दीपावली (दिवाली) नामले पनि जानिन्छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाईको पूजा गरिन्छ । तिहारपर्वको पहिलो दिन अर्थात कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरी मीठोमीठो खान दिएर काग तिहार मनाईन्छ ।यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । यमपञ्चकको तेस्रो दिन अर्थात् कार्तिक कृष्णपक्ष औंसीका दिन लक्ष्मीपूजा र गाई तिहार मनाइन्छ । यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ ।यमपञ्चकको चौंथो दिन अर्थात कार्तिक शुक्लपक्ष प्रतिपदाको हल तिहार वा गोवर्धन पूजा मनाइन्छ र तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ ।यो पर्व दिदीले भाईलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाईले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । यो पर्वको तिहार तथा दीपावलीको अवसरमा हामी सम्पूर्ण पाठनवर्गमा हार्दिक शुभकामना अर्पण गदछौं ।

Leave a Reply