सिमरा,भारतको बिहारस्थित मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजना अन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

दोस्रो चरणको कार्य अन्तर्गत आईओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु भएको हो । मोतिहारीबाट पाइप लाइनमार्फत डिजल आयात गर्ने पहिलो चरणको परियोजना सम्पन्न भएपछि पाइप लाइनबाट पेट्रोल आयात गर्न दोस्रो चरणको कार्य सुरु भएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले जनाएको छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म ७६ किमीको दुरी रहेको छ । नेपाल र भारतबीच भएको सम्झौता अनुसार दोस्रो चरणको कार्य इन्डियन आयल कर्पोरेशन (आईओसी)ले गर्ने बताइएको छ । यो पूर्वाधार निर्माण गर्न एक अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान रहेको डिपोका प्रमुख प्रदिप यादवले जानकारी दिनुभयो । भण्डारण गृह निर्माण नभएका कारण पाइप लाइनबाट पेट्रोल ल्याउँन नसकिएको उहाँले बताउनुभयो ।

यो परियोजना अन्तर्गत पहिलो चरणको २०७६ भदौ २४ गते सम्पन्न कामबाट पाइप लाइनबाट डिजल आयात गर्न सुरु भएको बताइएको छ । दोस्रो चरण अन्तर्गत अमलेखगञ्जमा पेट्रोल भण्डारण गर्न चार हजार एक सय किलोलिटर क्षमताका दुई ट्याङ्की निर्माण भइरहेको बताइएको छ ।

Leave a Reply