नरही,नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले बारा क्षेत्र नम्बर २ मा एमालेको जित सुनिश्चित रहेको बताउनुभएको छ ।नेकपा एमालेको चुनावी अभियानको क्रममा बुधवार बारा आउनुभएका नेता पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताउनुभएको हो ।बैशाख १० गते हुने निर्वाचनका लागि एमालेको ठुलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रुपमा मैदानमा हुनुले नै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाइ थियो ।नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिड्नेलाई भन्दा जनतासंग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा २ का मतदाता उत्साहित देखिएको बताउनुभयो । लामो समयदेखि बाराको भुगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मुल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिनुभयो ।अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो । नेता पोखरेलले बारा क्षेत्र नम्बर २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताउनुभयो ।नेता पोखरेलले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गर्नुभएको थियो । उहाँले उम्मेदवार पौडेलसंगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न आह्वान गर्नुभएको थियो ।



















