डुमरवाना,साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्रको साधारण सभाले प्रदीप सिंह बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।संस्थाको २६औँ बार्षिक साधारण सभा शनिवार डुमरवानामा सम्पन्न भएको हो । कार्यसमितिको सदस्यमा डुमरवाना केन्द्रबाट प्रदीप सिंह बराल, पलट चौधरी, रुद्र न्यौपाने, शान्ति तामाङ्ग, कतर्वाबाट नवराज श्रेष्ठ, सिमरा केन्द्रबाट संगिता पाण्डे, सुकुमाया वाइवा, शारदा रिजाल, निजगढ केन्द्रबाट उर्मिला लामा, गीता चौलागाई, लक्ष्मी पुलामी, कोल्हवी केन्द्रबाट विष्णुकुमार श्रेष्ठ, विक्रम चौधरी निर्वाचित हुनुभएको हो ।त्यस्तै लेखा समितिमा शारदा खड्काको संयोजकत्वमा ललिता थापा, कविता काफ्ले निर्वाचित हुनुभएको छ ।यसअघि साना किसान कृषि सहकारी संस्था डुमरवानाका निवर्तमान अध्यक्ष बिश्बनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारकी मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री साहले मुलुकमै परिचित साना किसानले लक्षित वर्गमा लगानी गरेको र उल्लेखनीय परिणाम निकाल्न सफल भएको बताउनुभयो । उहाँले साना किसान सहकारीले वित्तीय अनुशासन र सहकारीको प्रभाव बढाएको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभयो ।राष्ट्रिय तथा अंतर्राष्ट्रिय पुरस्कारबाट सम्मानित साना किसान सहकारी डुमरवाना नेपालमा पटक पटक उत्कृष्ट घोषित हुदै आएको छ । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने केन्द्रका कर्मचारी र बचतकर्तालाई सम्मान गरिएको थियो । यसैगरी सञ्चारकर्मी लक्ष्मी खरेललाई संस्थाले सम्मान गरेको थियो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारी, साना किसान लघु वित्त वित्तीय संस्था हेटौँडाका प्रवन्धक कृष्णाकुमारी शर्मा, जीतपुरसिमरा वडा २ का वडाध्यक्ष, धनबहादुर श्रेष्ठ, वडा १४ का वडाध्यक्ष चयन गुरुगं, सिमरा महिला साकोसका कोषाध्यक्ष गीता शर्मालगायत संस्थाका सेयर सदस्य, साना किसानमा आबद्ध वचतकर्ताहरुको उपस्थिति रहेको थियो ।



















