पुष्पराज खतिवडा

मनहर्वा,सिमरा विमान स्थलमा शनिबार पौने घण्टा उडान अवरुद्ध बनेको छ । धावनमार्गमा अकस्मात ठुलो संख्यामा कागको बथान देखिएपछि बिहान ७ ः३० देखि ८ः१५ सम्मको उडान प्रभावित भएको विमान स्थल कार्यालय सिमराले जनाएको छ । पौने घण्टा उडान ढिलो भएपछि विमान स्थलबाट दिनभरिको उडान प्रभावित भएको यात्रुले बताएका छन ।

शुक्रबार बेलुकी अवतरण गरेको बुद्ध एयरको जहाज हावाहुरीका कारण सिमरामै थियो । बिहान काठमाडौं फर्कने तयारीमा रहेको जहान कागका कारण प्रभावित भएको एयर ट्राफिक कन्ट्रोलर सुरेन्द्र कुशवाहले जानकारी दिनुभयो । गए रातीको हावाहुरीमा परी एउटा काग मरेपछि धावन मार्गमा कागका बथान नै आएको हो । धावन मार्गमा जम्मा भएका काग धपाउन विमान स्थल सुरक्षामा खटिएका सुरक्षाकर्मी, प्रहरी र एयरलायन्सका कर्मचारी समेत गरी ठुलो संख्यामा जनशक्ति परिचालन गरिएको कुशवाहले बताउनुभयो ।

उहाँका अनुसार काग धपाउन पटका लगायतका अन्य ठुलो ध्वनी निकाल्ने साधन समेत प्रयोग गरिएको थियो । सिमरा विमान स्थलबाट बुद्ध सहित श्री र यती एयरलाईन्सका दैनिक एकदर्जन बढी उडान हुँदै आएको छ । सिमरा विमान स्थलमा कागले उडान प्रभावित बनाएको पहिलो घटना भएको एयर ट्राफिक कन्ट्रोलर कुशवाहले जानकारी जनाउनुभयो ।

Leave a Reply