निजगढ,वैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय प्रशासन बारा जिल्लामा चुनाव लक्षित सुरक्षा रणनीति बनाउने योजनामा जुटेको छ ।
जिल्ला प्रशासन कर्यालय बाराको आयोजनामा बिहीवार निजगढ नगरपालिकामा अन्तरजिल्ला सुरक्षा समन्वय बैठक आयोजना भएको हो ।
बैठकमा बारा, पर्सा, रौतहट र मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका जिल्लास्थित प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकमा सुरक्षाको अवस्था र आगामी रणनीतिका बारेमा छलफल गरिएको बताइएको छ ।
सीमा क्षेत्रमा हुनसक्ने हातहतियार ओसारपसार तथा अन्य अपराधिक गतिविधि नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ अभियान तीव्र पार्ने लगायत ५ वटा निर्णय गरिएको बारा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले बताउनुभयो । उहाँले प्रशासनसँगै सुरक्षा निकायलाई अतिरिक्त सहयोगका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरिएको पनि जानकारी दिनुभयो ।
अन्तरजिल्ला सुरक्षालाई प्रभावकारी बनाइ समन्वयात्मक ढंगले अगाडि बढ्ने गरी निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो । बैठकका सहभागीहरुले सीमा क्षेत्रमा हुने गैह्कानुनी क्रियाकलापलाई ४ वटै जिल्लाको समन्वयमा नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशप्रसार ढकाल, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जिललको सुरक्षा योजना प्रस्तुत गरेका थिए । उहाँहरुले विपद्का घटनाहरूसँग समन्वय, लागूऔषध ओसारपसार र सूचना आदानप्रदान गर्न बैठक महत्वपूर्ण भएको बताउनुभएको छ ।