रौतहट,अङ्ग्रेज सेनालाई युद्धमा हराएको सम्झनामा रौतहटको ऐतिहासिक भूमि समनपुरमा शुक्रवारदेखि फागु वैरिया मेला महोत्सव सुरु भएको छ ।अङ्ग्रेज युद्धसँग सम्बन्धित रहेको जिल्लाको गढीमाई नगरपालिका १ समनपुरमा प्रत्येक वर्ष लाग्दै आएको ऐतिहासिक फागु वैरिया मेला महोत्सव शुक्रवारदेखि सुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रौतहट निर्वाचन क्षेत्र ४ का सङ्घीय सांसद देवप्रसाद तिमल्सिनाले एक कार्यक्रमकाबीच समनपुर फागु वैरिया मेला महोत्सवको उद्घाटन गर्नुभएको थियो ।महोत्सव उद्घाटन सत्रमा जनप्रतिनिधिको साथै नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । मेला उद्घाटन गर्न आउनुभएका सांसद तिम्सिनालाई गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।उद्घाटन समारोहमा प्रदेश सांसद तथा राज्यमन्त्री अबुल कलाम आजाद, मेयर यादव, बिरदल गण गौरका प्रमुख कर्णेल गङ्गाबहादुर बिष्ट, उपमेयर, वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो ।

रौतहट र सर्लाहीको सीमा क्षेत्रमा पर्ने समनपुरमा शुक्रवारदेखि सुरु भएको मेला ५ दिनसम्म अर्थात होली पर्वको भोलिपल्टसम्म लाग्ने बताइएको छ । कुनै समय नेपाल र अङ्ग्रेजबीच भएको युद्धमा समनपुरवासीले अङ्ग्रेजलाई परास्त गरेको सम्झनामा समनपुरमा प्रत्येक वर्ष यसै समयमा मेला लाग्दै आएको छ । सोही समयदेखि समनपुरलाई लडईया समनपुर समेत भन्ने गरिन्छ ।

सन् १८१४ -१६ मा नेपाल (अङ्ग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरबासीले अङ्ग्रेजलाई धपाएका थियो भने उनीहरुको धेरै हातहतियार समेत खोसेको इतिहास छ । सोही घटनाको सम्झनामा बर्सेनि लाग्ने समनपुरमा लाग्ने मेलामा विभिन्न गाउँ र सर्लाही जिल्लाबाट सर्वसाधारण आउने गरेका छन् ।सर्लाही र रौतहटका विभिन्न गाउँबाट हजारौँ पसले तथा विभिन्न खेलतमासा लिएर मेलामा आइपुगेका छन् ।

Leave a Reply