कलैया,अत्यधिक चिसो बढेका कारण बाराको देवताल गाउँपालिकाले आइतवार र सोमवार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविनकुमार श्रीवास्तवले चिसोका कारण सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरूको स्वास्थ्य जोखिमलाई ध्यानमा राखी दुई दिनको बिदा घोषणा गरिएको जानकारी दिनुभयो ।
चिसोकै कारण पर्सामा पनि सामुदायिक विद्यालयहरू बन्द हुने क्रम सुरु भएको छ । जिल्लाका विभिन्न स्थानीय तहहरूले सूचना जारी गर्दै विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई ध्यानमा राखी विद्यालयहरूमा सार्वजनिक बिदा घोषणा गरेका छन् ।
पर्साको जगरनाथपुर, छिपहरमाई, बिन्दवासिनी, सखुवाप्रसौनी, कालिकामाई र धोविनी गाउँपालिकाले अत्यधिक चिसो र शीतलहरका कारण विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यस्तै, पर्सागढी, पोखरिया, र बहुदरमाई नगरपालिकाले पनि शीतलहरले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने जोखिम बढेको भन्दै विद्यालयहरू बन्द गरिएको सूचना सार्वजनिक गरेका छन् ।
उता, पर्साको पोखरिया नगरपालिकाले भने पुस २२ गतेदेखि २९ गते सोमबारसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत बाल विकासदेखि कक्षा १२ सम्मका सामुदायिक र संस्थागत विद्यालयहरूमा पठनपाठन बन्द रहने जानकारी दिँदै, नगरपालिकाले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राखी यस्तो कदम चालिएको बताएको छ ।