वीरगञ्ज –  रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उपचारमा आवश्यक रक्त सहयोग उपलब्ध गराउने उद्देश्यले वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटर्याक्ट क्लब अफ नेशनल मेडिकल कलेजको आयोजनामा तथा नेशनल मेडिकल कलेज ब्लड बैंकको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

नेशनल मेडिकल कलेज परिसरस्थित पार्किङ क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको रक्तदान अभियानबाट कुल ६८ पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार विपद्को समयमा आवश्यक पर्ने रक्त अभाव न्यूनीकरण गर्दै प्रभावित नागरिकहरूको जीवन रक्षा प्रयासमा सहयोग पु¥याउने लक्ष्यसहित अभियान आयोजना गरिएको हो ।

अभियानमा चिकित्सक, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्वयंसेवक तथा विभिन्न क्षेत्रका सहभागीहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए । सङ्कलित प्रत्येक युनिट रगतले विपद्बाट प्रभावित तथा उपचाररत बिरामीहरूको जीवन बचाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास पनि आयोजक पक्षले व्यक्त गरेको छ ।

नेशनल मेडिकल कलेज ब्लड बैङ्कमार्फत सङ्कलित सम्पूर्ण रगत रसुवा बाढीपीडितहरूको उपचार तथा आवश्यक रक्त सहयोगका लागि प्रयोग गरिने जनाइएको छ । मानवीय सेवाको भावनासहित सम्पन्न यस अभियानले विपद्को समयमा समुदाय, स्वास्थ्य संस्था तथा स्वयंसेवकहरूबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास छ ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी, प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. ईशरत जहान, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, प्रमुख वित्तीय अधिकृत, मार्केटिङ म्यानेजर तथा प्रशासन विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । त्यसैगरी ट्र्याक्टर क्लब अफ नेशनल मेडिकल कलेजका अध्यक्ष एमडी उमर देवानसहित चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, ट्र्याक्टर क्लबका सदस्य तथा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ ।

Leave a Reply