काठमाण्डौ – विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर चरणबद्ध आन्दोलनमा रहेका शिक्षकहरूले बुधवार काठमाण्डौमा प्रदर्शन गरेका छन् ।नेपाल शिक्षक महासङ्घको अगुवाइमा देशभरका शिक्षकहरू काठमाण्डौ आएर प्रदर्शन शुरू गरेका हुन् । उनीहरूले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारी लगायतका समस्यालाई विद्यालय शिक्षा विधेयकमा समेटिनुपर्ने माग गरेका छन् ।

यसअघि शिक्षकसँग भएको सहमति कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने महासङ्घले जनाएको छ । शिक्षकहरूको प्रदर्शनका कारण दिउँसो काठमाण्डौको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासङ्घले आन्दोलनमा सहभागी शिक्षकहरूलाई जथाभाबी फोहोर नफाल्न निर्देशन दिएको छ । महासङ्घले हिजै विज्ञप्ति निकालेर आन्दोलनका क्रममा बोटबिरुवा, दुबो, ट्राफिक डिभाइडर तथा अन्य भौतिक तथा जैविक वस्तुको सुरक्षा गर्नुपर्ने र आफूले खाएको पानीको बोतल, खाजा खाँदाको सामग्री लगायत फोहोरजन्य वस्तु आफैँसँग राखी फोहोर फाल्ने ठाउँमा लगेर फाल्नुपर्ने उल्लेख छ ।

पछिल्लो समय आन्दोलन तथा सभा–सम्मेलनका क्रममा गरिएको फोहोरको विषयमा काठमाण्डौ महानगरले सम्बन्धित आयोजकलाई जरीवाना तिराउने गरेकाले यस्तो निर्देशन दिएको नेपाल शिक्षक महासङ्घका महासचिव तुलाबहादुर थापाले बताउनुभयो ।

Leave a Reply