वीरगन्ज,नेकपा एमालेको पर्सा जिल्ला कमिटीका अध्यक्षमा जयप्रकाश थारु चयन हुनुभएको छ । नेकपा एमाले पर्साको ८औं जिल्ला अधिवेशनले थारुको अध्यक्षतामा १ सय ३५ सदस्यीय कमिटीको नाम सार्वजनिक गरिएको हो ।
बन्द सत्रमा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गर्नुभएको थियो । पाँच जना पदाधिकारीमध्ये उपाध्यक्षमा फरमान अन्सारी, सचिवमा मनोज गुप्ता, उपसचिवमा सञ्जीव मिश्र र प्रद्युम्न सेढाईं चयन हुनु भएको छ । एमालेले यसअघि पुस २७ र २८ गते बन्द सत्र राखेको थियो । बन्द सत्रमा नेताहरुबीच विवाद भएपछि स्थगित गरिएको थियो ।
विवाद समाधान गरी सर्वसम्मत नेतृत्व चयन गर्ने जिम्मा केन्द्रीय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, प्रभु हजारा र अरबिन्द सिंहले पाएका थिए । चारमध्ये तीन केन्द्रीय सदस्यले पेस गरेका पदाधिकारी र सदस्यहरुको मात्रै नाम जिल्ला कमिटीमा राखिएको स्रोतले जनाएको छ । केन्द्रीय सदस्य एवं विवाद समाधान गर्न गठित समितिको सदस्य अरविन्द सिंह जिल्ला कमिटीको पदाधिकारी र सदस्यको नाम छनोटप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।
जिल्ला कमिटीमा नअटाएकालाई सल्लाहकार कमिटीमा राखिएको भएपनि सल्लाहकार कमिटिको संयोजक बनाइनु भएका पार्टीका नेता डा. विश्वम्भर शर्मा नै असन्तुष्ट देखिनु भएको छ ।