कलैया,बारामा गएराती एकजना विवाहीता महिलाको हत्या भएको छ । बाराको महागढीमाई नगरपालिका १ का बैजनाथ कुशवाहाकी श्रीमती ४८ बर्षीया कान्ति देवीको गएराति आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । महिलाको टाँउको र कन्चटमा धारिलो हतियारले प्रहार गरि हत्या गरिएको अवस्थामा शव भेटिएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार , मृतक महिलाका श्रीमान् बैजनाथले गएराति ९ बजे तिर खाना खाएर आफु टहल्न घर बाहिर निस्किएको र आधा घण्टापछि घर भित्र पस्दा श्रीमति मृत अवस्थामा भेटिएपछि छिमेकीलाइ खबर गरेका थिए । त्यसपछि बैजनाथले प्रहरीलाइ पनि खबर गरेको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो । कुशवाहा दम्पति , दुइ जना मात्रै घरमा बस्दै आएका थिए । उनिहरुका तीन छोरा र एक छोरी , अध्ययन र जागीरको शीलशीलामा काठमाण्डौमा छन् । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनुभयो । महिलाको टाउको र कन्चटमा धारिलो हतियारले हानेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर ल्याएर थप अनुसन्धान थालिएको पनि प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो । महिलाको शव पोष्टमार्टमका लागि आज बिहान कलैया स्थित जिल्ला अस्पतालमा पठाइएको प्रहरी नायव उपरिक्षक मिश्रले बताउनु भयो ।