काठमाण्डौ – नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा मङ्गलवार भएको दोस्रो खेलमा काठमाण्डौ नाइट्स विजयी भएको छ ।त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डौले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाण्डौले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा अलआउट हुँदै एक सय ५५ रनमात्रै बनाउन सक्यो । जनकपुरका लागि समिउल्लाह शिनवारीले २९, सन्दीप जोराले २६ र पवर्न सर्राफले २४ रन बनाए । बलिङतर्फ काठमाण्डौका अजमतुल्लाह ओमरजाईले ३ र बसिर अहमदले दुई विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौका लागि एलेक्स ब्लेकले सर्वाधिक ८३, विरन्दीप सिंहले ४९ र अजमतुल्लाह ओमरजाईले नटआउट ४३ रन बनाए । बलिङतर्फ जनकपुरका पवन सर्राफले दुई विकेट लिए ।तीन खेलमा समान चार,चार अङ्क भए पनि नेट रनरेटको आधारमा काठमाण्डौ दोस्रो र जनकपुर तेस्रो स्थानमा छ ।



















