काठमाण्डौं,इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोधमा गाजामा प्रदर्शन भईरहेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्ध विरामको सम्झौताका सर्तहरू स्वीकार गरेको तर इजरायलले स्थायी युद्धविरामका सर्तहरू अस्वीकार गर्दै आएको भन्दै प्रधानमन्त्री नेतन्याहुको विरोधमा प्रदर्शन भईरहेको बीबीसीले जनाएको छ ।
यसअघि गाजाको रफाहमा इजरायलले झण्डै एक लाख जना मानिसलाई त्यहाँ छाडेर अन्य क्षेत्रमा जान आग्रह गरे लगत्तै हमास लक्षित आक्रमण गरिरहेको छ । १ सय २८ जना इजरायली बन्धकहरू हमासको नियन्त्रणमा छन् । बन्धकहरूको परिवारले तेलअविभमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री नेतन्याहुलाई अन्तर्राष्ट्रियस्तरबाट पनि गाजामा भइरहेको कारबाही रोक्नुपर्ने सुझाव आइरहेको छ । इजरायलमा प्रधानमन्त्री नेतान्याहुको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै लामो समयदेखि प्रदर्शन भईरहेको छ ।यसैबीच अमेरिकाले गाजाको शहर रफाह आक्रमणलाई ध्यानमा राख्दै इजरायलमा बमलगायतका विस्फोटक पदार्थ पठाउन रोकेको छ ।
राष्ट्रपति जो बाइडेनको प्रशासन कार्यालयका अनुसार अमेरिकाले इजरायल पठाउन लागेको नौ सय सात किलो तौलका एक हजार आठ सय बम र दुई सय २० केजी तौलका एक हजार सात सय बम रोकेको बीबीसीले जनाएको छ ।
इजरायलले गाजाको रफाहमा आक्रमण गर्ने उद्देश्यले त्यहाँ बस्ने मानिसलाई अन्यत्र जान भनेको थियो । तर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना नबनाएसम्म रफाहमा इजरायली आक्रमणलाई समर्थन नगर्ने अमेरिकाले बताएको छ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै महिनादेखि रफाहमा हमासविरुद्ध ठूलो मात्रामा कारबाही नगरेसम्म युद्ध जित्न नसकिने भन्दै आक्रमण तीव्र बनाउने कुरामा जोड दिँदै आउनुभएको छ ।


















