नरेश गुप्ता
बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर २५ ढोरिया पन्चायनपुरमा होलीको दिन शुक्रवार राती दलित महिलाहरूमाथि दुव्र्यवहार र कुटपिट भएको छ ।
स्थानीय रामलाल कुर्मी पटेलको समूहले सोही ठाउँ बस्ने बिजय रामको घरमा राती ८ बजे प्रवेश गरि महिलाहरुमाथि कुटपिट तथा दुव्र्यवहार गरेको घटना बाहिर आएको हो ।
कुटपिटबाट स्थानीय मिना देबी राम, उनकी छोरी वर्ष १४ को अंजली राम, ससुरा देवसरन राम, मुनीदेबी राम घाइते भएका छन । घाइते सासू मुनीदेबी र ससुरा रामको वीरगन्जमा उपचार भइरहेको छ । होलीको दिन कुर्मी समुहका केही युवाहरुले डिजे बजाएर नाँचगान गर्ने क्रममा दलित बस्तिमा गएर नाँचगान गर्न खोज्दा कुर्मी र केही दलित समुदायका युवाहरुबीच झडप भएको थियो ।
कुर्मी समुदायबाट दलित समुदायप्रति अन्याय र अत्याचार गरेको स्थानीय राम असिस रामले बताउनुभयो । कुटपिटमा संलग्न युवाहरू फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । घटनापछि दोषिहरुमाथि कारबाहीको माग गर्दै स्थानीय दलित समुदायका महिलाहरु आइतवार जिल्ला प्रहरी कार्यालय बारामा आइपुगेका थिए ।