कृष्णउदास खनाल
वीरगञ्ज,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पर्साबाटै तीन जना मन्त्री बनेका छन् ।
पर्सा– १ बाट प्रतिनिधि सभा सदस्य प्रदीप यादव, २ का सांसद अजयकुमार चौरसिया र ३ बाट विजयी राजकुमार गुप्ता मन्त्री बनेका हुन् । यादव जनता समाजवादी पार्टी (जसपा), चौरसिया नेपाली कांग्रेस र गुप्ता नेकपा एमालेको कोटाबाट मन्त्री बनेका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिरिषदमा यादव खानेपानी तथा सरसफाइ, चौरसिया कानुन, न्याय तथा संसदीय मामिला र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
पर्सा–४ बाट निर्वाचित रमेश रिजाल यही संसदीय कार्यकालमै मन्त्री भइसक्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा रिजाल उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री हुनुहुन्थ्यो ।
यसैबीच सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री परिषदमा पर्साबाट मन्त्री बनेका तीन जना मध्ये दुईजनाको संयोग निकै रोचक छ ।
पर्साको तीनवटै क्षेत्रका सांसदहरु ओलीको मन्त्री परिषदमा अटाएका छन् । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्नुु भएको छ । उहाँ राजाको प्रत्यक्ष शासनकाल अघिको देउवा नेतृत्वको सरकारमा स्थानीय विकास सहायक मन्त्री बन्नुभएको थियो ।पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपा एमालेका सांसद राजकुमार गुप्ता ओली क्याबिनेटमा नयाँ अनुहार हुनुहुन्छ । उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । कांग्रेसका चौरसिया र एमालेका गुप्ता पहिलेदेखि नै राजनीतिका कडा प्रतिस्पर्धी हुन् । पहिलो संविधानसभा निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका चौरसियालाई दोश्रो संविधानसभा निर्वाचनमा गुप्ताले पराजित गरेर बदला लिनुभएको थियो ।

चौरसिया र गुप्ताको घर पनि वीरगञ्जको एउटै टोलमा रहेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरको ओम आश्रम रोडमा चौरसियाको घर पर्छ भने त्यहि बाटोबाट भारतीय महावाणिज्यदूतावासतर्फ मोडिने सडकमा गुप्ताको घर छ ।
दोश्रो संविधानसभामा निर्वाचित भएपछि गुप्ताले आफूले पराजित गरेका चौरसियाकै घरको बाटोबाट विजयी जुलुश लिएर गएका थिए । त्यसपछि चौरसिया र गुप्ताबीच राजनीतिक तुष थप बढेको थियो । संयोग नै भनौ कांग्रेस र एमालेको गठबन्धनमा बनेको ओली नेतृत्वको सरकारमा चौरसिया र गुप्ता मन्त्री परिषदमा सँगै परेका छन् ।

Leave a Reply