सिमरा,प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७÷७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिनुभयो ।

भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ । चालक तथा सर्वसाधारणलाई सवारीसम्बन्धि नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।

बितेको १ वर्षमा आयोजित २ हजार ८ सय यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताउनुभयो । ट्राफिक प्रहरीले गत आवमा १ सय ६ ओटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । चालू आव २०७८÷०७९ को शुरूआतसँगै यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही तीव्र पारिएको छ । कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ । प्रदेश ट्राफिकले यही साउन २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० ओटा सवारीसाधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिनुभयो ।

Leave a Reply