नरेश गुप्ता
बरियारपुर,स्वच्छ खानेपानी योजना अन्तर्गत बाराको बिश्रामपुर गाउँपालिकाले पालिकाका सबै वडामा चापाकल गाड्ने योजना बनाएको भएपनि अधिकांश गाउँमा कल जडान नै नगरी झण्डै ७ करोड रकम हिनामिना भएको छ ।
बिश्रामपुर गाउँपालिकाको अर्थिक वर्ष ०७७÷०७८ मा बिनियोजन गरिएको खानेपानीको चापाकल जडान गर्ने बजेट सम्बन्धित वडा अध्यक्षसहित उपभोक्ता समितिका र गाउँपालिकाका अध्यक्षको मिलेमतामा मापदण्ड विपरित सिमित स्थानमा मात्रै चापाकल गाढेर रकम हिनामिना भएको हो ।
गाउँपालिकाले चापाकल जडानमा गरेको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
स्वच्छ पिउने पानीकोलागि चापाकल जडान उपभोक्ता समितिका जाबैद अंसारीले गाउँपलिकास्तरीय योजना अन्तर्गत मुसहर्वा र बिश्रामपुरलगायत केही सिमित स्थानमा मात्र चापाकल जडान गरी प्रतिफिट दुई सय पचास रुपैयाको दरले ८० फिट जडान भएको ठाउँमा १ सय २० फिट बराबरको रकम भुक्तानी लिएर अनियमितता गरेको बिश्रामपुर गापा वाड नम्बर ५ निवासी एंव नेकपा एमालेको तर्फबाट गत स्थानीय निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी बन्नु भएका धर्मदेव यादवले जानकारी दिनुभयो ।
बिश्रामपुर गाउँपालिका अध्यक्ष अमिरिलाल पाल सवारी दुर्घटना मुद्दामा जेल चलान भएको समयमा वडा अध्यक्षहरुले ठेकेदारसंग २० प्रतिशतसम्म कमिशन लिएर गाउँपालिकास्तरीय चापाकल जडान भएको सिफारिस गाउँपाकिकाको कार्यालय जानकारी दिइएको थियो ।
बिश्रामपुर गाउँपालिकामा केही सिमित स्थानमा मात्रै चापाकल जडान गरिएको स्थानीयले बताए । गाउँपालिका अध्यक्ष पालले आफ्ना आसेपासेलाई मात्र उपभोक्ता समितिमा राखेर करोडौं रकम अनियमितता गर्नुभएको छ । स्वच्छ खानेपानी योजनाको लागि छुट्याइएको रकम अनियमितता गरेर गाउँपालिकाले जनतालाई स्वच्छ पिउने पानीको अधिकारबाट बंचित गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको स्थानीयले गुनासो गरेका छन ।