वीरगन्ज,पर्सा जिल्लामा लागुऔषध प्रयोगकर्ता र लागुऔषध कारोबारमा संलग्नहरु पक्राउ पर्ने क्रम दोब्बरले बढेको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६÷७७ मा १ सय ११ वटा मुद्दा दर्ता भएकामा ०७८,०७९ मा आइपुग्दा यो संख्या दुई गुणा बढेर २ सय ३७ पुगेको छ । त्यसैगरी गरी लागुऔषधको कारोबारमा संलग्न भएर पक्राउ पर्नेहरु पनि दोब्बरले बढेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा १ सय ७० जना पक्राउ परेकामा गएको आर्थिक वर्षमा त्यो संख्या बढेर २ सय ४६ पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।

कार्यालयमा दर्ता भएका मुद्दाको आधारमा पर्सामा लागुऔषध प्रयोग र कारोबारको समस्या चुनौतीपूर्ण बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताउनुभएको छ ।

पछिल्लो तीन वर्षको तथ्यांकमा सबैभन्दा धेरै नाइट्रोभेट ट्याब्लेट सेवन गर्नेहरु रहेको देखिएको छ । गएको आर्थिक वर्षमा १५ हजार ६ सय ४२ पिस यो ट्याब्लेट पर्सा प्रहरीले बरामद गरेको थियो ।

भारतसँगको खुला सिमाका कारण ब्राउनसुगर, अफिम, चरेश, गाँजा लगायतका लागुऔषधको तस्करी पनि फस्टाउँदै गएको पाइएको हो ।

कारोबारीहरुले नेपालबाट गाँजा, चरेश, अफिम भारततर्फ लैजाने र भारतबाट नाइट्रोभेट, फेनार्गन, नुर्फिन, कोरेक्स जस्ता लागुऔषध ल्याउने गरेको पाइएको पनि प्रहरीको भनाइ छ ।

गएको आर्थिक वर्षमा १ सय ३५० किलो गाँजा प्रहरीले बरामद गरेको थियो भने ब्राउन सुगर ५८ ग्राम, अफिम १३ ग्राम, चरेस २३ ग्राम बरामद गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामै १ महिलासहित ३८ जना लागुऔषध कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरिसकेको छ । एक महिनाको अवधिमा चरेस २ किलो, ब्राउन सुगर ५ ग्राम, गाँजा ९ किलो बरामद भएको छ । यस्तै नाइट्रोभेट ट्याक्लेट ३ हजार ५ सय ३४ पिस, डाइजिल्याब १ हजार ३ सय ७०, नुर्फिन १ हजार ४ सय ५८, डाइजिल्याब १ हजार ६ सय ४८ एम्बुल बरामद भएको पनि प्रहरीको तथ्यांकले देखाएको छ । गत भदौ ४ गते तेल बोक्ने ट्यांकरमै गाँजा बरामद भएको थियो । ट्यांकरको तेल भर्ने ट्यांकीभित्र गाँजा राखेर भारत लैजान लागेको अवस्थामा प्रहरीले १ सय ७२ किलो गाँजासहित एक जनालाई पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दर्ता भएका मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी लागुऔषधको प्रयोग र कारोबारसँग सम्बन्धित हुने गरेको छ ।

यसले गर्दा पछिल्ला समय पर्सा प्रहरीको हिरासत र कारागारमा लागुऔषध कारोबारमा संलग्न तथा प्रयोगकर्ताको संख्या अधिक रहेको छ । लागुऔषधको ओसारपसार नियन्त्रणका लागि सीमा नाकामा प्रहरीले कडाइ गरिरहेको पनि बताउदै आएको छ ।

Leave a Reply