वीरगन्ज,सरकारले आइतबारदेखि देशभरका विद्यालयका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन निर्देशन दिएको भएपनि पर्सा जिल्लामा भने विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम अनिश्चित बनेको छ ।

देशभरका विद्यालयहरु बन्द रहेपनि शिक्षा मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई आइतबार माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोलेर विद्यालयमै खोपको व्यवस्था गर्न निर्देशन दिएको छ ।

तर पर्सा जिल्लामा भने लक्षित उमेर समुहका विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम नै अनिश्चित भएको छ । पर्सामा विद्यार्थीहरुको लागि लगाउने भनिएको मेर्डना र फाइजर खोप नै नआइसकेकाले विद्यार्थीहरुलाइ आइतवारदेखि खोप लगाउन नसकिएको स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख नवलकिशोर साहले बताउनुभयो ।

पर्सामा मात्र नभइ मधेस प्रदेशमै स्वास्थ्य मन्त्रालयबाट मोर्डना र फाइजर खोप नआएको भन्दै साहले खोप आउने बित्तिक्कै विद्यार्थीहरुलाई खोप लगाउन शुरु गरिने जानकारी दिनुभयो । सम्भवतः यहि साताभित्र विद्यार्थीलाई खोप लगाउने अभियान प्रारम्भ हुने उहाँको भनाइ छ ।

यता वीरगन्ज महानगरपालिकाका सामुदायिक विद्यालयहरु भने विद्यार्थीहरुलाई खोप नलगाएसम्म बन्द नै रहने नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरका अध्यक्ष विनोद मेहताले बताउनु भएको छ । आइतबार सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै अध्यक्ष मेहताले विद्यार्थीका लागि खोप लगाउन सरकारले आइतवारदेखि विद्यालय खोल्न निर्देशन दिएको भएपनि पर्सामा खोप नै नआएका कारण यसअघिको निर्देशन अनुसार बन्द रहेका विद्यालयहरु नखुल्ने र खोप आएपछि मात्रै विधालयहरु खोलिने जानकारी दिनु भएको छ ।

यसैबिच पर्साको ठोरी गाउँपालिकाका सामुदायिक विद्यालयहरू आइतबारदेखि खुलेपनि विद्यार्थीलाई लगाइने कोरोना विरुद्धको खोप अभियान भने त्यहा पनि अनिश्चित बनेको छ । ठोरी गाउँपालिकामा १२ देखि १७ वर्ष उमेरसमुहका विद्यार्थीलाई लगाइने खोप अझै आइनसकेकोले खोप अभियान नै अनिश्चित बनेको हो । शिक्षा मन्त्रालयले देशभरका सामुदायिक विद्यालय माघ १६ गतेदेखि २० गतेसम्म सन्चालन गरेर १२ वर्ष देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरुलाई सम्बन्धित विद्यालयमै कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन निर्देशन गरेको छ । त्यहि निर्देशन बमोजिम ठोरीका विद्यालयहरु सन्चालनमा आएका हुन् ।

तर बालबालिकाहरुलाई लगाउने भनिएको फाइजर खोप अझै गाउँपालिकामा आइनपुगेकोले विद्यार्थीहरुलाई कहिलेदेखि खोप लगाउने निश्चित नभएको ठोरी गाउँपालिकाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले बताउनुभयो । उहाँले ठोरी गाँउपालिकाका सबै स्वास्थ्य संस्थालाई विद्यालयमा कोरोना विरुद्धको खोप अभियान सन्चालन गर्न तयारी अवस्थामा राखिएको भएपनि जिल्लाबाट नै खोप नआईपुगेकोले बालबालिकालाई खोप लगाउने अभियान प्रभावित बनेको बताउनुभयो । खोप आउनेबित्तिकै तत्काल विद्यालयसंग समन्वय गरेर अभियान सुरु गरिने उहाँको भनाइ छ ।

ठोरीका सबै सामुदायिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुको अभिलेख करीब ३ साता अघि नै विद्यालयहरूले गाउँपालिकामा उपलब्ध गराइसकेका छन् । विद्यालयबाट विद्यार्थीको उमेर समुहको जानकारी संकलन गरेर स्वास्थ्य शाखालाई जानकारी गराईसकेको शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिनुभयो ।

ठोरीका सामुदायिक विद्यालय र विद्यालयको पहुँच बाहिर रहेका लक्षित उमेर समूह १२ देखि १७ वर्षसम्मका करीब २५ सय बालबालिका रहेकोे स्वास्थ्य संयोजक थिङ्ले जानकारी दिनुभयो । आइतबारदेखि विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउनका लागि विद्यालय संचालन गरिएको भएपनि खोप नआउँदा विद्यालयको पठनपाठन पनि अन्यौलमा परेको छ । भौतिक उपस्थितिमा खोप नलगाइ पठनपाठन गर्दा कोरोना संक्रमण बढ्न सक्ने त्रासका कारण कतिपय विद्यालयहरुमा पठनपाठन नै हुन नसकेको शिक्षकहरुले बताएका छन् । खोप लगाउन नमिल्ने १२ वर्ष मुनिका उमेरसमुहका विद्यार्थीको पठनपाठन के गर्ने विषयमा पनि अन्यौल भएकाले पठनपाठन नै नगरिएको एक प्रधानाध्यापकले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here