निजगढ,निजगढ नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक मणिश्वर घिमिरेले निजगढ नगरपालिकाभित्र ६७.३ प्रतिशत जनताले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएको जानकारी दिनुभएको छ । स्वास्थ्य शाखा सहसंयोजक घिमिरेले शनिवार स्थानीय एक रेडियो कार्यक्रममा कुरा गर्दै सो जानकारी दिनुभएको हो ।
निजगढ स्वास्थ्य शाखाले लगाएको यो खोप संघीय सरकारले दिएको लक्ष्यभन्दा १ दशमलब ३ प्रतिशतले बढी भएको उहाँको भनाइ छ । सरकारले पौष मसान्तसम्म ६६ प्रतिशतलाई खोप दिनु पर्ने भनेर निजगढ नगरपालिकालाई लक्ष्य दिएको थियो । घिमिरेका अनुसार निजगढमा सबैभन्दा बढीले भेरोसेल खोप लगाएका छन । त्यसपछि कोभिशिल्ड र अष्ट्राजेनिका लगाउनेको संख्या दोस्रो नम्बरमा छ । अमेरिकन कम्पनी जोन्सनको खोप भने जम्मा २ हजार ६ सय जनाले मात्रै लगाएका छन ।
त्यसैगरी १२ वर्षदेखि १८ वर्ष उमेर समुहका बालबालिकाले भने सतप्रतिशतभन्दा बढी भ्याक्सिन लगाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५ हजारलाई लगाउनु पर्ने तथ्याङ्क रहेपनि नगरपालिकाले ५ हजार १ सय जना बालबालिकालाई खोप लगाइएको छ ।
स्वास्थ्यकर्मीले नगरका सबै विद्यालयमा पुगेर लगाएका कारण खोप लगाउने संख्या बढी भएको हो । अर्को प्रसङ्गमा उहाँले निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थाहरुमा प्यारासिटामोलको अभाव नरहेको जानकारी दिनुभयो । फोटो पनि छ ।