पुष्पराज खतिवडा

मनहर्वा,विरुवा मर्न थालेपछि डिभिजन वन कार्यालय बारा र हलखोरिया साझेदारी वन व्यवस्थापन समितिले ट्याङ्कीमा ओसारेर विरुवामा सिँचायी थालेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ कुस्माडी नजिकै पसाह खोला किनारमा करिव २१ हजार विरुवा रोपिएका थिए । गत भाद्र २२ गते निजामती सेवा दिवस २०७८ को अवसरमा वन कार्यालयले रोपेका बिरुवा मर्न थालेपछि ट्याङ्कीबाट पानी ओसारेर सिँचायी गर्न थालिएको हो ।

१५ हेक्टर क्षेत्रफलमा लगाइएका वनस्पति प्रजातिका विरुवा मर्न थालेपछि पानी हालेर बचाउने प्रयास थालिएको डिभिजन वन कार्यालय बाराका प्रमुख मंजुर अहमदले जानकारी दिनुभयो । विगत ५ दिनयता हलखोरिया साझेदारी वन व्यवस्थापन समितिको टयङ्करमा पानी भरेर विरुवामा सिँचाई गर्ने कार्य हुदै आएको छ ।

पसाह खोलाले धार परिवर्तन गरेको क्षेत्रमा लगाइएका मलेसियन साल (महुवनी), टिक, सिमल, अमला, जामुन, सिरिस लगायतका बिरुवा सुख्खाका कारण मर्न थालेको छ । ‘सुख्खाले बिरुवा मर्न थालेका छन, वन कार्यालय प्रमुख अहमदले भन्नुभयो, पानी हालेर जोगाउने प्रयास भइरहेको छ ।’ उहाँले रोपेजति सबै नबाँच्ने र बाँचेका पनि सबै नहुर्कने भन्दै उहाँले चिस्यानको कमीले मर्न लागेका बिरुवामा सिँचायी गर्ने र मरेका बिरुवाको स्थानमा पुनः नयाँ विरुवा लगाउने काम भइरहेको पनि डिभिजन वन प्रमुख अहमदले बताउनुभयो ।

पसाह खोलाले धार परिवर्तन गरेको क्षेत्रलाई वन कार्यालयले तारबार सहित संरक्षण गरि वृक्षारोपण गरेको हो । लामो समयदेखि वर्षा नभएकोले बिरुवा जोगाएर हुर्काउन समस्या भएको सबडिभिजन वन कार्यालय डुमरवानाका वन रक्षक श्रीभगवान् यादवले बताउनुभयो । सिँचायी गरेर बिरुवा जोगाउने कार्यमा जिल्ला वन र हलखोरिया साझेदारी वन समितिका कर्मचारीले मिलेर दैनिक रुपमा सबै बिरुवमा ३ देखि ५ लिटरको दरले पानी सिँचायी गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला वन कार्यालय बाराले जीतपुरसिमरा वडा नम्बर १८ मा वडा नम्बर १५ तथा कोल्हबी नगरपालिका ३ मासमेत गरी ४५ हेक्टर क्षेत्रमा वृक्षरोपण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here