निजगढ,स्वस्थ जीवन यापनको लागि खानेकुरा पनि स्वच्छ हुनुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साले सोमबार निजगढ नगरपालिकामा होटेल र रेष्टुरेन्ट संचालकहरुको लागि आयोजना गरेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रजिअ कटुवालले सो कुरा बताउनुभएको हो ।
‘दैनिकरुपमा प्रयोग गर्ने खाद्यान्नको आधारमा नै हाम्रो व्यबहार र विचार पनि निर्माण हुन्छ, प्रजिअ कटुवालले भन्नुभयो, असल व्यबहार र विचार बनाउन खानेकुरा पनि स्वच्छ र गुणस्तरीय हुनुपर्छ ।’ न्युनगुणस्तरीय खानेकुराबाट मानिसको स्वास्थ्यमा मात्र नभइ वातावरणमा पनि नकरात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।
प्रजिअ कटुवालले आफ्ना ग्राहकहरुलाई स्वस्थ र गुणस्तरीय खानेकुरा उपलब्ध गराएर व्यवसाय सफल पार्न होटेल तथा रेष्टुरेन्ट व्यवसायीहरुसंग अनुरोध पनि गर्नुभयो । ‘जहाँ स्वस्थ, सफा र गुणस्तरीय खानेकुरा पाइन्छ ग्राहकहरु पनि त्यतै जान्छन, उहाँले भन्नुभयो, ग्राहक बढाएर व्यवसाय सफल पार्न पनि अब खाद्यान्न स्वच्छतामा ध्यान दिनुपर्छ ।’ उहाँले गुणस्तरीय खाद्यान्न प्रयोग गर्नेतर्फ उपभोक्ताहरुले पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । ‘ग्राहक आफै सचेत भएर स्वस्थ खानेकुराको माग गर्न थाले भने व्यवसायीहरु पनि गुणस्तर कायम गर्न बाध्य हुनेछन,’ उहाँले भन्नुभयो, यदि उपभोक्ता सचेत भएनन भने बजारमा कमसल र न्युनगुणस्तरीय सामग्रीको कारोबार रोकिदैन ।’
निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने, निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की, खाद्य प्रविधि डिभिजन कार्यालयका प्रमुख बिक्की राउत, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर २ का सचिव मोहन लामिछानेलगायतले खाद्यान्नको स्वच्छता र गुणस्तर कायम राख्ने बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खनालले खाद्यान्न स्वच्छताको लागि कृषि उत्पादनमा पनि स्वच्छता हुनुपर्ने बताउनुभयो । ‘मानव स्वास्थ्यको लागि हानिकारक मानिने विभिन्न प्रकारका रसायनिक वस्तु र विषधिको प्रयोग गरेर खाद्यान्न उत्पादन गर्ने क्रम नरोकिएसम्म स्वच्छ र गुणस्तरीय खाद्यान्नको परिकल्पना साकार हुदैन उहाँले भन्नुभयो, ‘गुणस्तरीय खाद्यान्नको लागि विषाधिरहित कृषि उत्पादनमा जोड दिनुपर्छ ।’
त्यसैगरी नगर उपप्रमुख लामिछानेले उपलब्ध सेवा, सुविधाको आधारमा नै व्यवसायको पहिचान कायम हुने भएकोले गुणस्तरीय सेवा प्रदान गर्न होटेल तथा रेष्टुरेन्ट व्यवसायीहरुले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ, सफा र गुणस्तरीय खाद्यान्न उपलब्ध गराएर निजगढको पहिचान बढाउन व्यवसायीहरुसंग अनुरोध पनि गर्नुभयो ।
निजगढ नगरपालिकाको सहजीकरणमा भएको सो स्थानीय होटेलको स्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । नगरसभा हलमा भएको सो कार्यक्रमको संचालन नगरपालिकाका अधिकृत रविन घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा निजगढका २ दर्जनभन्दा बढी होटेल व्यवसायीहरुको सहभागिता रहेको थियो ।