सुनसरी । सुनसरीको धरानबाट ३१ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन्।
धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकस्थित एक घरमा खानतलासी गर्ने क्रममा प्रहरीले उक्त पदार्थ र नगद बरामद गरेको हो।
मंगलबार दिउँसो करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ वर्षीय प्रकाश तामाङको घरको कोठामा जाँच गरेको थियो। सो क्रममा ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















