काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। उनीहरूले उक्त पदार्थ मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको प्रहरीले जनाएको छ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूले प्लास्टिकले बेरेर आठवटा गोलाकार अर्धठोस पदार्थ शरीरभित्र लुकाई ल्याएका थिए। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूबाट प्लास्टिकको र्‍यापसहित कुल दुई किलो ३४८ ग्राम तौल भएको उक्त पदार्थ बरामद गरिएको हो।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।

प्रहरीका अनुसार लिनाको साथबाट एक हजार ३४० ग्राम तौल भएका पाँच थान र सिनपिङको साथबाट एक हजार आठ ग्राम तौल भएका तीन थान गोलाकार अर्धठोस पदार्थ बरामद भएको छ।

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले शङ्कास्पद रूपमा सुन लुकाएर ल्याएको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

पक्राउ परेका दुवै महिलालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply