कृष्ण मोहन साह

सेढवा,बलात्कार पीडित पर्साकी एक किशोरीले पीडकको तर्फबाट भएको धाकधम्की र त्रासका कारण स्वास्थ्य परीक्षण गराउन इन्कार गरेकी छिन ।

जबरजस्ति करणीमा मुद्दा दर्ता गराएर सुरुमा स्वास्थ्य परीक्षण गराउन तयार भएकी पीडित किशोरी र उनका अभिभावकहरुमाथि दवाव बढदै गएपछि स्वास्थ्य परीक्षण गर्न हच्किएका हुन ।

आफूलाई नेता बताउने गाउँकै केही व्यक्तिले किशोरीको स्वास्थ्य परीक्षण नगराउन आर्थिक प्रलोभनसमेत देखाएको बताइएको छ । स्वास्थ्य परीक्षण नगराएमा मुद्दा कमजोर हुने र अनुकुलको फैसला गर्न सकिने योजनामा पीडित किशोरीको स्वास्थ्य परीक्षणमा अवरोध गर्ने प्रयास भएको हो । स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल वीरगन्ज पुगेकी किशोरीले अहिले धम्कीका कारण स्वास्थ्य परीक्षण मानेकी छैनन ।

पर्सा जिल्ला जगरनाथपुर गाउँपालिकाकी वडा नम्बर १८ वर्षीया एक किशोरीलाई दुई जना युवकले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको पीडित किशोरी र उनका परिवारजनले आरोप लगाएका छन् ।

पीडित किशोरीले बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय पोखरीमा आफै जाहेरी लिएर गएपछि स्वास्थ्य परीक्षण गराउन जाँदा पीडित किशोरी र उनका आमाबुबालाई बलात्कारी युवककोतर्फबाट स्थानीय केही राजनीतिक दलका नेता, कार्यकर्ताले धाकधम्की दिइएको खबर प्राप्त भएको छ । स्वास्थ्य परीक्षण गराए पीडितको ज्यान लिने, गाउँमा बस्न नदिने र घर जलाइ दिने भन्ने जस्ता धम्की दिएको पीडितले बताएका छन । किशोरीलाई गाउँकै २३ वर्षीय रामधेनी यादव र १९ वर्षीय अवध बिहारी यादवले २० दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप पीडित किशोरीले लगाएका हुन् । पीडित किशोरीका बुबाका अनुसार कात्तिक २३ गते बिहान ६ बजे पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ को श्री नेरा मावि निचुटामा ट्युशन पढ्न जाने क्रममा किशारीलाई बाटोबाटैमा रामधेनी र अवध बिहारीले अपहरण शैलीमा नियन्त्रणमा लिई मोटरसाइकलमा राखेर वीरगन्जको घडिअर्वामा रहेको रामधेनीको डेरामा ल्याएर राखेका थिए । सुरुमा डेरामा तीन दिन राखेको र त्यसपछि दुवै युवकले १७ दिनसम्म रातिको समयमा डेराबाट बाहिर विभिन्न स्थानमा लगेर पटक–पटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन ।

उनले भनिन्, ‘सुरुको ३ दिन डेरामै राखेर मसँग कुर्कम गरे, त्यसपछि १७ दिनसम्म राति डेराबाट निकालेर बाहिर लैजान्थे । कहाँ लैजान्थे त्यो मलाई थाहा हुन्थेन । बाहिर लगेको बेलामा पनि दुबैले मसँग जबरजस्तीकरणी गर्थे।’

मंसिर १३ गते रातिको ३ बजे उठेर ती किशोरी वीरगन्जबाट भागेर गाँउको घरमा पुगेको उनका अभिभावकले बताएका छन् । पीडित किशोरी भागेर घरमा आएकै दिन इलाका प्रहरी कार्यालय पोखरीयामा पीडकहरुविरुद्ध जाहेरी दिंदा प्रहरीले जाहेरी लिइ अनुसन्धान दर्ता प्रक्रिया अगाडि बढाइएको पीडित किशोरीका बुबाले बताउनुभयो । मङ्गलबार प्रहरीले जाहेरीको आधारमा पहिला स्वास्थ्य परीक्षण गराउन भनेको उहाँले बताउनुभयो ।

यसबीचमा पीडकका आफन्तले घटना मिलापत्र गर्न पटक–पटक आर्थिक प्रलोभन दिंदा नमानेपछि धम्की पनि दिएको पीडित किशोरीका बुबाले बताउनुभयो । यस्तै प्रहरीलाई घटना बारे जानकारी गराएको एक हप्तापछि मात्र आरोपित दुवै युवकलाई प्रहरीले पक्राउ गरिएको छ । दुबै युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाका अनुसार मंसिर १३ गते किशोरी सहितका अभिभावक अपहरणको मात्रै उजुरी लिएर आएकाले त्यस बेला अपहरण सम्बन्धी अनुसन्धान गर्नु पर्ने भएकाले दुबै युवकलाई तारिखमा राखेर घर पठाइएको हो । मङ्गलबार भने बलात्कार नै भएको भनेर जाहेरी लिएर आएकाले जाहेरी दर्ता गरेर स्वास्थ्य परीक्षण गराउन नारायणी अस्पताल पठाउँदा किशोरीले स्वास्थ्य परीक्षण नगराउन नमानेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here