वीरगन्ज,वीरगन्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत निर्माणाधीन ६ लेन सडकको काम फागुन महीनाभित्र निर्माण सम्पन्न गर्न दिर्नेशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न सरोकारवलाहरुको बैठकमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीहरुलाई यस्तो निर्देशन दिइएको हो । बैठकले तोकिएको समयभित्र सडक निर्माण नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । बैठकमा ६ बुँदे सहमति पनि भएको र बैठकमा व्यापारिक मार्ग आयोजनाले मितेरी पुलदेखि वीरगन्जको रजतजयन्ती चोकसम्म तत्काल टेन्डर गरी सडक प्याचिङ र ओभरल्यापको काम गर्ने तथा सडक विभागले तत्काल माईस्थान चोकदेखि पावरहाउस चोकसम्म सडकको स्टीमेट गरी निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको समेत प्रजिअ ढकालले बताउनुभयो ।
आयोजना कार्यालयले जनाएअनुसार आइसिपीदेखि पथलैयासम्म ३० दशमलभ ६८ किलोमिटर ६ लेन सडक निर्माण भइरहेको छ । सो सडकको चौडाइ ५० मिटर रहेको छ । आइसिपीदेखि पथलैयासम्म १३ वटा ठेकेदार कम्पनीले ठेक्का सकार गरेका छन् ।
यसैबीच पर्सा र बाराका सुरक्षा निकायका प्रमुखहरूलाई दुवै जिल्लाका प्रजिअहरुले बैठकमा ६ लेन सडकमा ओभरलोडको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए । ओभरलोड भारतीय गाडीलाई छुट दिने र नेपाली गाडीसँग रकम उठाउने गरेको विषयमा कुरा उठेपछि यस्तो निर्देशन दिइएको हो ।



















