कलैया,सेढवाअन्तराष्ट्रिय युवा दिवस बिहीबार बिभिन्न्न कार्यक्रम गरी बारा र पर्सा जिल्लामा पनि मनाइएको छ ।

सो अवसरमा अन्तर्राष्ट्रिय युवा दिवस २०२१ बारा को सदरमुकाम कलैयामा पनि मनाइएको छ । दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको सभा हलमा ‘विकासको लागि युवा सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । एनसिइ नेपाल जिल्ला समन्वय समिति बाराको आयोजना तथा गढिमाई युनेस्को क्लबको सहकार्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव रहनु भएको थियो ।

गढिमाई युनेस्को क्लबको अध्यक्ष मन्जु सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल, दलित जनजाति उत्थान केन्द्रका अध्यक्ष बनारसी साह, अनेरास्ववियु स्थायी कमिटी सदस्य इमरान आलम, बिपि कोइराला स्कुल अफ पब्लिक पोलिसी बाराका अध्यक्ष निजामुदिन अन्सारी, विश्व हिन्दू युवा संघ बाराका अध्यक्ष सागर पटेल, जेजेवाइसी बाराका कार्यकारी निर्देशक श्रीनिवास वैठा, समृद्ध नेपालका अध्यक्ष अरबिन्द यादव, लुमन्ती आवसको लागि सहयोग समुह कलैयाका सामुदायिक सहजकर्ता अनिल मण्डल लगायतकाको उपस्थिति रहेको थियोे ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले बिकासका लागि सबै युवाको साथ हुनु जरुरी भएको बताउनुभयो । परिवर्तनका निम्ति युवा जमातको साथ र सहभागिता अत्यावश्यक भएको उहाँले बताउनुभयो । यादबले आजका युवाहरुले हिजोआज केवल समाजिक सन्जालमा आफ्नो जीवनको महत्वपूर्ण समय खेर फालिरहेकोमा आफू दुखित बनेको बताउदै सबैलाई उपलब्धि मुलक कार्यमा लाग्न अनुरोध गर्नुभयो । अहिले अधिकांश युवाहरु कुलतमा फसेको बताउदै यसको नियन्त्रणको लािग सबै अभिभावकहरु सचेत हुनुपर्ने उहाँले बताउनुभयो । रोजगारका लागि सीप सिकाएर काम दिने कार्यक्रम पनि महत्वका साथ दिइरहेको बताउदै मेयर यादबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सबै नेपाली युवाहरुलाई शुभकामना दिनुभएको छ ।

‘खाद्य प्रणालीमा रूपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि दिवस मनाइएको हो । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्थाले पनि कार्यक्रम गरी दिवस मनाएका छन ।

त्यसैगरी पर्साको सेढवाबाट हाम्रा सम्बाददाता कृष्ण मोहान साहले पठाएको समाचार अनुसार ठोरी गाउँपालिकामा पनि बिहीबार परिसम्वाद कार्यक्रम सम्पन्न भएको छ । ठोरी गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न कार्यक्रममा शरीर स्वस्थ राख्न खाद्य प्रणालीमा रुपान्तरण गर्नका लागि युवाहरुको भुमिका विषयमा छलफल भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी वक्ताहरुले खानपानकै कारण संसारभरका मानिसहरुमा स्वास्थ्य समस्या बढ्दै गएकाले खानपान सुधारमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । यस्तै बजारमा पाइने हरियो तरकारी र अन्य खाद्य वस्तुमा प्रयोग भैरहेको विषादीका कारण स्वास्थ्य समस्या बढ्दै गएको र यसले मानवलाई दिनप्रतिदिन रोगी बनाउँदै लगिरहेकोमा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागी ठोरी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष बईबहादुर तामाङ्ले खानपिनमा लापरवाही गर्दा मानव स्वास्थ्यमा समस्या बढ्दै गैरहेको बताउनुभयो । आफ्नो वडामा समेत केही वर्षयता क्यान्सरको बिरामी बढ्दै गइरहेकाले त्यस सम्बन्धमा गम्भीर भएर सोच्ने बेला आएको बताउनुभयो ।

यस्तै कार्यक्रममा माध्यमिक विद्यालय विजयवस्तीका प्रधानाध्यापक नारायण लामाले पछिल्लो समय अम्लीय खानेकुरामा युवायुवतीको आकर्षण बढ्न थालेकोले स्वास्थ्य समस्या निम्तिएको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा पालिकाको कृषि शाखा संयोजक र पशु शाखा संयोजकले पनि स्वास्थ्य सम्बन्धी धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण गर्दै स्वास्थ्य शाखा संयोजक थिङ्ले नेपालमा अहिलेपनि ३६ प्रतिशत नागरिकमा कुपोषण रहेको तथ्याङ्क प्रस्तुत गर्दै कुपोषणको मुख्य कारण नै खानपान रहेको बताउनुभयो । उहाँले खाना र वातावरणले बालबालिकाको स्वभाव, शारीरिक र मानसिक विकास लगायत निर्धारण गर्ने भएकाले खाद्य प्रणालीमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योजना शाखाका अधिकृत अर्जुनकुमार जिसी, शिक्षा संयोजक भुपालकुमार जोशी, पालिकाका विभिन्न शाखाका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । खाद्य प्रणालीमा रुपान्तरण, मानव तथा भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन भन्ने नाराका साथ बिहीबार देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो ।

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसमा विविध कार्यक्रम हुँदै आएका छन । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारीरूपमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४० दशमलव ३ प्रतिशत युवा रहेका छन ्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here