वीरगन्ज,प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत पर्सा, बारा र रौतहटका कानुन व्यवसायीहरुले बुधबार पनि अदालतमा बहश बहिष्कार गरेका छन् । वकिलहरुको आन्दोलनका कारण गाउँगाउबाट सेवा लिन आएका सेवाग्राही भने मारमा परेका छन् ।
वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलाश जनकपुर, पर्सा जिल्ला अदालत, बारा जिल्ला अदालत र रौतहट जिल्ला अदालत बार एशोसियसनको बैठकले गरेको निर्णय अनुसार अदालतमा बहश बहिष्कार गरिएको हो । आन्दोलन स्वरुप बुधबार उच्च अदालत अस्थायी इजलाश वीरगन्ज परिसरमा बिहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म कानुन व्यवसायीहरुले धर्ना पनि दिएका छन् ।
कानुन ब्यवसायीहरुले बुधबार बिरोध कार्यक्रमको समेत आयोजना गरेको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका पूर्वअध्यक्ष सुधिर कर्णले जानकारी दिनुभयो । बुधबारको विरोध सभामा नेपाल बार एशोसियसनका केन्द्रीय सदस्य भीम बन्जरा र बरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि सम्बोधन गर्नुभएको थियो । बिहीबार मंसिर ९ गते बारा जिल्ला अदालतको परिसरमा धर्ना दिने कार्यक्रम तय भएको उच्च अदालत बार एसोशिएन वीरगन्जका निवर्तमान अध्यक्ष कर्णले जानकारी दिनुभयो । यसैगरि मंसिर १० गते रौतहट जिल्ला अदालत परिसरमा बृहत विरोधसभा गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।