निजगढ,बाराको निजगढमा मंसिरको दोश्रो साता तेस्रो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको छ ।
निजगढ तेक्वान्दो डोजाङ्गको आजोजनामा तेश्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगितामा सातवटा प्रदेश सहित विभागीय टिमले सहभागिता जनाउने आइतबार निजगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमा डोजाङ्ग प्रमुख वसन्त लामा तामाङ्गले जानकारी दिनुभयो । प्रतियोगिता मंसिर १० गते र ११ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ ।
निजगढ तेक्वान्दो डोजाङ्गका अध्यक्ष बिकाश लामाले तौल समूहका आधारमा ८ वटा पुरुष समूह र ६ वटा महिला समूह गरी १४ वटा तौल समूहबीच प्रतिष्पर्धा हुने बताउनुभयो । प्रतियोगितामा खेलाडी र प्रशिक्षक र अफिसियलसहित १ सय ४० जनाभन्दा बढीको सहभागिता रहने बताइएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ तेक्वान्दो कभर्ड हलमा हुन लागेको प्रतियोगिताको आयोजना गर्न लागिएको निजगढ तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि ९ लाख १६ हजार २ सय रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका विजेता टोलीले मेडल, ट्रफीसहित ८१ हजार र उपविजेताले ४१ हजार रुपैयाँ पाउने छन् ।