सेढवा,पर्साको ठोरी गाउँपालिकाले बेपत्ता तथा शहीद परिवारलाई आर्थिक सहयोग गरेको छ । गाउँसभाले १० बर्षे माओवादी जनयुद्धका क्रममा शहीद भएका परिवारहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरे बमोजिम गाउँपालिकाले प्रतिपरिवार १ लाखका दरले आर्थिक सहयोग गरेको हो । ठोरी गाउँपालिकाको चौथो गाउँसभाले बेपत्ता तथा शहीद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
ठोरी गाउँ कार्यपालिका कार्यालय घ्याङ्डाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो । उहाँले शहीद हिरा श्रेष्ठकी श्रीमती अन्जना श्रेष्ठ, शहीद कुन्दा पाख्रिनका भाइ बिरबहादुर पाख्रिन र शहीद बिरबहादुर पाख्रिनकी आमा माईली तामाङ्नीलाई जनही १ लाख सहयोग हस्तान्तरण गर्नुभएको हो । यस्तै शहीद बसन्त भण्डारीकी श्रीमती मैना भण्डारी र शहीद हिरा सापकोटाकी आमा यशोदा सापकोटालाई पनि आर्थिक सहयोग हस्तान्तरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले १० बर्षे जनयुद्धले मुलुकमा ठुलो परिवर्तन ल्याएकाले परिवर्तनका लागि ज्यानको बलिदान दिने शहीदहरुको सम्मानमा सहयोग गरिएको बताउनुभो । उहाँले आगामी दिनमा पनि गाउँपालिकाले शहीदलाई सम्मान गर्दै जाने उदघोेष गर्नुभयोे । कार्यक्रममा सहकारी संघ ठोरीका अध्यक्ष अष्टबहादुर लोप्चन, ठोरी गाउँपालिकाका शिक्षा संयोजक भुपालकुमार जोशी, शिक्षक माधव तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।