निजगढ,निजगढ ९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनको लागि मतदान नै हुने भएको छ ।अघिल्लो शनिवार भएको साधारण सभाले नयाँ कार्यसमिति चयनको सर्वसम्मत रुपमा गर्न भनेर दिएको एक साताको समय समाप्त भएपछि अब निर्वाचनको शंभावना बढेको हो । साधारण सभामा समूहको अध्यक्षसहित अन्य पदमा समेत आवश्यकताभन्दा बढीले आकाक्षा देखाएपछि निर्वाचन समितिले सर्वसम्मतिको लागि भन्दै एक साताको समय दिएको थियो ।
समितिले दिएको समय समाप्त भइसक्दा समेत सर्वसम्मतिको नाम लिस्ट नआएकाले आइतवारबाट निर्वाचनको थप प्रक्रिया शुरु गरिने समितिका संयोजक रामजी बजगाईले बताउनुभयो । उहाँले सहमति हुने शंभावना देखिए अझै एक पटक समय दिएर हेर्न सकिने पनि बताउनुभएको छ ।साधारण सभाको बन्द सत्रमा १ जना अध्यक्ष पदको लागि ८ जनाको दाबी परेपछि निर्वाचन समितिले सर्वसम्मतिको नामावली तयार पार्न भनेर ७ दिनको समय दिएको थियो ।
साधारण सभाले सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष बजगाई संयोजक रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा सब डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल, निजगढ नगरपालिकाका वन तथा वातावरण इकाइका अधिकृत अनिल कोइराला, निजगढ वडा नम्बर ९ की वडा समिति सदस्य बबिता श्रेष्ठ निजगढ ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष गणेश भण्डारी रहेका छन ।
साधारण सभाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गर्नुभएको थियो ।


















