निजगढ,छठ पूजा व्यवस्थापन समिति निजगढले बकैया नदी किनारामा छठी घाट निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएको छ । समितिका अध्यक्ष हृदय बाबु रौनियारले पूजाको लागि पण्डाल र सांस्कृतिक कार्यक्रमको लागि स्टेज निर्माणको ९० प्रतिशत काम पुरा भएको बताउनुभयो ।

समितिले यो वर्ष छठ पर्वको अवसरमा निजगढमा राष्ट्रिय र स्थानीय कलाकारको टोली बोलाएर छठ घाटमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्न लागेको अध्यक्ष रौनियारले जानकारी दिनुभयो । सो अवसरमा पूजा सम्पन्न गर्न आर्थिक सहयोग गर्ने दाताहरुको सम्मान पनि गरिने उहाँले बताउनुभयो ।

समितिले पूर्वपश्चिम लोकमार्गको बकैया पुल नजिक बकैया नदी किनारामा श्रद्धालुहरुको लागि छठी घाट निर्माण गर्न लागेको हो । सोही स्थानमा बुधबार दिउसो र बिहीबार विहान कलाकार टोलीले सांगितिक कार्यक्रमसमेत प्रस्तुत गर्ने उहाँले बताउनुभयो । अध्यक्ष रौनियारले छठ पर्व सफल पार्न सहयोग गर्ने चन्दादाताहरुलाई पनि सम्मान गर्न लागिएको बताउनुभयो । यसैबीच आस्थाको महापर्व छठअन्तर्गत हिजो पहिलो दिन नहाय–खाय विधि गरिँएको छ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । वतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी (धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न) को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ । गम्हरीलाई साठी पनि भनिन्छ । छठपर्वमा साठी प्रकारको वस्तु चाहिने भनिन्छ, तिनमा गम्हरीलाई कुटेर त्यसको केही कमी रहन गएमा गम्हरीको प्रयोगले त्यसको पूर्ति भइहाल्ने लोकविश्वास रहेको छ । चामललाई पर्वका अवसरमा बनाइने नैवेद्यका लागि उपयोग गरिन्छ । आरोग्य लाभ मुख्य उद्देश्य भएको छठपर्व उत्सवको रूपमा मात्र नभई कठिन व्रत र उपवास गरिने तपस्याको रूपमा देखिन्छ । चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । छठपर्वको पूजन एवं तयारीका क्रममा छठ सामग्रीलाई जुठो गर्न नहुने र कुनै प्रकारको व्यवधान जानी वा नजानी गरिएमा अनिष्ट हुने निश्चित मानिएको छ । छठपर्व विशुद्धरूपमा प्रकति र पुरूषको पूजा हो । सन्तान प्राप्तिका लागि दैवी कृपाको अपेक्षा यस व्रतले गरेको छ । झट्ट हेर्दा यो सूर्यको पूजाझैँ देखिए पनि पुराणअनुसार यो मूल प्रकृतिको छैठो अंशबाट उत्पन्न भएकी भगवती देवीको पूजा रहेको छ । देवी भागवतमा षष्ठी देवीले पुत्रहीनलाई पुत्र प्रदान, पत्नीहीनलाई पत्नी प्रदान, धनहीनलाई धन र कर्मवानलाई उत्तम फल प्रदान गर्ने उल्लेख गरिएको छ । यसै कारण यो पर्व साझा समानताको पर्वका रूपमा लोककरण भएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here